कास्की ईशान स्पोर्टस मिटको उपाधि न्यु ग्यालेक्सीलाई
कास्की । कास्की, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (ईशान) को स्पोर्टस मिटको उपाधि न्यु ग्यालेक्सीले जितेको छ । ईशान कास्कीको आयोजनामा पोखरामा जारी १४ औँ संस्करणको ईशान स्पोर्टस मिटको उपाधि लगातार न्यु ग्यालेक्सी माविले उचालेको हो ।
ग्यालेक्सीले जारी प्रतियोगिताका ४ खेलका ६ इभेन्टमा १७ अङ्क बटुल्दै उपाधि जितेको हो । पोखरा रङ्गशालामा चार दिनदेखि जारी प्रतियोगितामा प्लस टु छात्र बास्केटबलतर्फ प्रथम, प्लस टु भलिबल छात्रा–छात्रामा दोस्रो र प्लस टु ब्याडमिन्टन छात्रा डबल्समा दोस्रो हुँदै च्याम्पियन भएको हो ।

प्रतियोगितामा छात्र बास्केटबल फाइनलमा न्यु ग्यालेक्सीले पोखरा सेकेण्डरी माथी ६६–४९ स्कोरले जित हासिल गरेको छ । बास्केटबल छात्रतर्फ न्यु ग्यालेक्सीका सुमित गुरुङ उत्कृष्ट खेलाडी भए भने पोखरा सेकेण्डरीका लेजन गुरुङ सर्वाधिक स्कोरर घोषित भएका छन् । यसै गरी प्लस टु छात्रा बास्केटबलमा प्रतिभा मावि प्रथम भएको छ भने कास्की मोर्डनाइज्ड दोस्रो र माउन्ट अन्न्नपूर्णले तेस्रो स्थान हासिल गरेका हुन् । छात्रा बास्केटबलमा प्रतिभाकी वन्दना थकाली उत्कृष्ट खेलाडी र सोही विद्यालयकी कुसुम गुरुङ सर्वाधिक स्कोरर घोषित भइन् ।
स्पोर्टस मिटका विजेता खेलाडी तथा टिमहरूलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
गत पुस ८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा प्लस टु कक्षा ११–१२ तर्फ ४९ र विश्वविद्यालयतर्फ ८ गरी ५७ विद्यालयका ३ हजार विद्यार्थी १४ औँ संस्करणको ईशान स्पोर्टस मिटमा सहभागी थिए ।
ईशान कास्कीमा ७१ विद्यालय आबद्ध छन् ।








प्रतिक्रिया राख्नुहोस्