अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान मस्यौदा प्रस्तुत

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ ।
विधान मस्यौदा र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न माओवादी केन्द्रले विभिन्न २५ वटा समूह बनाएको छ ।
सो समूहमा भोलि दिनभर छलफल गरेर बुधवार समूहका तर्फबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष प्रचण्डले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विभिन्न सात वटा शीर्षकहरूमा समग्र राजनीतिक पक्षहरू समेटिएका छन् ।
‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षक तय गरिएको राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति एवम् कार्यनीति उल्लेख गरिनुका साथै समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्नहरू समेटिएको वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
नेता देव गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदामा पार्टीलाई बहुपदीय व्यवस्थामा लैजाने गरी एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष गरी १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रिय समिति बनाउने लगायतका प्रस्ताव गरिएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीभित्रका कमीकमजोरीहरूलाई सुधार गर्दै सबल पक्षहरूको अनुसरण गरिने बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्