पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथर । पाँचथर जिल्लाका उच्च पहाडी क्षेत्रहरूमा हिमपात भएको छ ।
केही दिनअघि हलुका वर्षा भएपछि जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रहरूमा हिमपात भएको हो ।
प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुस महिनाको सुरुआतमै हिमपात भएको हो ।
पाँचथरमा पर्ने तिम्बु पोखरी, पहाडेमेगू, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफूले, फालोट, तीनसीमाना, चारराते लगायत उच्च पहाडी क्षेत्रहरू हिउँले ढाकिएका छन् ।

पुष्पलाल (मध्य पहाडी) लोकमार्गको सुरु बिन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ ।
हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ ।
पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीनसीमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् ।

बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीहरूको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ ।
पाँचथरमा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनिजस्तो हिमपात हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्