कर्णाली राजमार्गको यात्रा अझै कष्टकर

जुम्ला । कर्णाली राजमार्गको दैलेख खण्डको अधिकांश सडक अझै सुधार हुन सकेको छैन ।
अधिकांश क्षेत्रमा हालसम्म पनि ग्राभेल नभएका कारण धुलाम्य हुँदा यात्रु बिरामी हुने गरी यात्रा गर्न बाध्य छन् । यद्धपी, कर्णाली राजमार्गका वर्षौँदेखि अलपत्र पक्की पुलहरू भने निर्माण सम्पन्न भएका छन् ।
कर्णाली राजमार्गसँगै कर्णालीमा आर्थिक समृद्धि भित्रिए पनि, एक बोरा चामलका लागि महिनौँ हिँड्नुपर्ने कष्टले मुक्ति पाए पनि कर्णालीबासीले अझै ढुक्कले यात्रा भने गर्न पाएका छैनन् ।
एकातिर भौगोलिक विकटताले निम्त्याएको जोखिम र अर्को तिर स्तरबृद्धिमा भइरहेको ढिलासुस्तीले कर्णाली राजमार्गको यात्रा कहिलेसम्म सास्तीपूर्ण हुने, कहिले पूर्ण सुधार हुने, ढुक्कले यात्रा कहिले गर्ने ? भन्ने प्रश्न कर्णालीबासीको मनमनमा छ । राजमार्ग सञ्चालन भएको करिब डेढ दशक बितिसक्दा पनि अपेक्षित रुपमा राजमार्गको स्तरबृद्धि भएको छैन ।
तुलनात्मक रुपमा सडक डिभिजन जुम्लाको कार्यक्षेत्र दैखोलादेखि जुम्लातर्फको सडक सुधारोन्मुख देखिन्छ । तर दैलेख खण्डको सडक भने अझै अपेक्षित सुधार नभएको तातोपानी गाउँपालिका ८ का स्थानीय हेमन्त रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “दैलेखको केही ठाउँमा सडक कालोपत्रे भए पनि धेरै सडक धुलाम्य छ । त्यस्तै जुम्ला खण्डमा पनि कालोपत्रे भएको १÷२ वर्ष नहुँदै विभिन्न ठाउँमा फेरी सडक खनिएको छ ।”
सरकारले २० वर्ष पुराना गाडी चलाउन नपाउने नीति बनाएको छ । तर कर्णाली राजमार्गका गुड्ने अधिकांश पुराना सवारीका कारण पनि यात्रा जोखिमपूर्ण बन्दै गएको पत्रकार कृष्णमाया उपाध्याय बताउनुहुन्छ ।
एक लेनको जोखिमयुक्त सडक र पुराना गाडीले सुर्खेत जुम्लाको २ सय ३२ किमीको यात्रा बढीमा ६ घण्टा लाग्नुपर्ने भए पनि १३÷१४ घण्टामा धौधौले गन्तव्यमा पुग्ने स्थिति छ ।
सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख खण्ड सहितको १३२ किलोमिटर हेर्ने जिम्मा छ । भने, बाँकी १ किमी जुम्ला सडक डिभिजनको जिम्मा छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले दैलेख खण्डको ७३ किमी सडकको स्तरबृद्धि ठेकेदारका कारण ढिलाइ भएको बताउनुभयो ।
उहाँका अनुसार राकमदेखि मेलतोलीसम्मको सडकको स्तरवृद्धि गरिएको छ । रामाघाट, पाल्तडा, असाराघाट, पाली बजार, पादुका बजार लगायतका ठाउँमा कालोपत्रे भएको छ । सडक स्तरबृद्धिका लागि ताकेता दिएको इन्जिनियर शर्माको भनाई छ ।
जुम्ला खण्डको सडक स्तरबृद्धि तीव्रसडक डिभिजन जुम्लाले सडक स्तरबृद्धिमा जोड दिएको छ ।
कालिकोट खण्डको पिलि क्षेत्र र नाग्मदेखि रारा सडकको बीचमा सडक स्तरबृद्धि भइरहेको छ । उता अति जोखिम दैखोलामा पक्की मोटरेवल पुल निर्माण भई सञ्चालनमा आउँदा सहज भएको छ ।
यद्यपि, सडक स्तरबृद्धिका लागि भइरहेको कामले पनि विभिन्न ठाउँमा जोखिम पूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।
सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले सडक चौडा, कालोपत्रे सुधार तथा जोखिमपूर्ण मोड सुधारलाई तीव्र रुपमा अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार नाग्म–रारालिहि सडकको बीचमा ४ किमी सडक चौडा बनाउने काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “कालिकोट पिलिको अति जोखिमपूर्ण ओरालोलाई सुधार गर्दै छौ केही चौडा बनाउने तयारी छ । भने पिलिदेखि सिम्लेखोलाका साना र जोखिमयुक्त मोडलाई चौडा बनाइरहेका छौ । मान्मदेखि सेरीघाट सम्मको कालोपत्रे पनि सुधार गरिँदै छ ।”
साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु राख्ने चालकका कारण पनि यात्रा जोखिमपूर्ण भइरहेको छ ।
हरेक वर्षमा हुने स्तरबृद्धिले बजेट खर्च अनुसार सुधार नभएकोले डरैडरले यात्रा गर्नुपर्ने चालक जनक सिंहको गुनासो छ ।
कर्णाली राजमार्गमा अझै पनि दुर्घटनामुक्त बनाउन सडक स्तरबृद्धि, पुराना गाडी सञ्चालनमा रोक लगाउनु पर्नेमा जिसस उपप्रमुख कार्मा बुढाको भनाई छ ।
उहाँले भन्नुभयो, “साइट दिनेसम्म सडक छैन । महँगो भाडा दर पुराना गाडी अस्तव्यस्त सडक कर्णालीको जीवन रेखा मानिएको राजमार्ग यात्रा सास्तीपूर्ण हुनु दुखद पक्ष हो । राजमार्गको स्तरबृद्धिका लागि सङ्घ, प्रदेशले पर्याप्त लगानी गर्न आवश्यक छ ।”








प्रतिक्रिया राख्नुहोस्