तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी आठौँ महाधिवेशन : बन्दसत्र प्रज्ञा भवनमा सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु भएको छ । 


काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । 

बन्द सत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरू पेस हुने र ती प्रतिवेदनहरूमा समूहगत छलफल हुनेछ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २८ समूहमा विभाजन गरिएको छ ।

महाधिवेशनले पार्टीको केन्द्रीय समिति बैठकले आइतबार पारित गरेको विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावलाई अनुमोदन गर्नेछ ।  

पार्टीलाई बहुपदीय व्यवस्थामा लैजाने गरी केन्द्रिय समितिले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने गरी गरेको प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ । 

राजनीतिक प्रतिवेदन र विधान पारित भएपछि महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्र प्रचार विभागका सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । 

माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प पुष्प कमल दाहाल प्रचण्ड नै दोहोरिने निश्चित भए पनि अन्य पदहरूमा भने आकाङ्क्षीको सङ्ख्या धेरै देखिएको छ । 

माओवादी केन्द्रले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने तयारी गरेको छ ।

माओवादी केन्द्रले पहिलो राष्ट्रिय सम्मेलन गर्ने तयारी गरे पनि अन्तिम समयमा सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । 

आइतबारदेखि जारी महाधिवेशन अन्तर्गत बन्द सत्रमा करिब एक हजार छ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् । 

साथै विधान संशोधनलगायत विषय पनि बन्द सत्रमा छलफलका लागि पेस गर्ने तयारी माओवादीको छ। माओवादीको यो महाधिवेशनले १५ पदाधिकारी र केन्द्रीय सदस्य गरी २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ।

महाधिवेशनको आइतबार काठमाडौँमा उद्घाटन गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button