तपाईँ सुन्दै हुनुहुन्छः

रुट संरक्षण गर्न तनहुँको बिमलनगरमा रक क्लाइम्बिङ महोत्सव

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–४ को विमलनगरस्थित चुनपहरामा प्रथम रक क्लाइम्बिङ फेस्टिभल सम्पन्न भएको छ । रक क्लाइम्बिङको रुट संरक्षण गर्न दबाब दिन स्वदेश तथा विदेशी खेलाडीहरूलाई जम्मा गरी उक्त महोत्सव गरिएको बिमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो ।

मुग्लिन–कोत्रे सडक खण्ड विस्तारका क्रममा चुन पहराको अस्तित्व मेटिन नदिन र उक्त ठाउँको पर्यटन प्रवर्धन गर्न नेपालमै पहिलो पटक रक क्लाइम्बिङ महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड तथा बन्दिपुर गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म भएको ३ दिने रक क्लाइम्बिङ महोत्सवमा देश विदेशबाट आएका माउन्टेरिङ गाइडहरूबिच रक क्लाइम्बिङ प्रतियोगिता गरिएको थियो ।

साहसिक खेलका लागि नेपालकै रक क्लाइम्बिङको उपयुक्त गन्तव्य मानिएको विमलनगरको चुन पहरालाई बचाउन गरिएको ३ दिने महोत्सवमा रक क्लाइम्बिङ गर्नेको घुइँचो लागेको थियो । पृथ्वीराज मार्गको फराकिलो गर्ने क्रममा चुन पहरोमा गरिने रक क्लाइम्बिङको रुटको अस्तित्व नामेट भएर जाने भएकाले संरक्षण गर्न दबाब दिन महोत्सव गरिएको आयोजकले जनाएको छ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले पृथ्वीराज मार्गको स्तरोन्नति गर्ने क्रममा चुन पहराको अस्तित्व समाप्त गर्न नहुने बताउनुभयो । रक क्लाइम्बिङको प्रचार गरी पर्यटन प्रवर्धन गर्न समेत महोत्सवले मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

मुख्य आयोजक गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले बिमलनगरको चुन पहरा साहसिक खेल रक क्लाइम्बिङका लागि नेपालकै उत्कृष्ट गन्तव्य रहेकाले यसलाई बचाउन आफूहरूले महोत्सवको आयोजना गरेको बताउनुभयो । ‘‘चिनियाँ कम्पनीले सडक विस्तार गर्ने क्रममा चुन पहरालाई जोगाइदियोस् भन्ने कुरामा दबाब दिन महोत्सव गरेका हौँ’’ शाहीले भन्नुभयो ।

नेपालकै सबैभन्दा राम्रो र उपयुक्त गन्तव्यको रूपमा मानिएको रक क्लाइम्बिङको उद्गम स्थल चुन पहरालाई जोगाउनु आफूहरूको एक मात्र उद्देश्य भएको
आयोजक क्लबका कोषाध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो ।श्रेष्ठका अनुसार चुन पहरामा साहसिक खेल रक क्लाइम्बिङ गर्नका लागि स्वर्गीय इमानसिङको सम्झनामा प्रेम गुरुङ, सुनार गुरुङ, श्री महर्जन र पदम घलेले रुटहरू तयार गर्नुभएको हो । ६० वटा रुट तयार भइसकेको समितिले जनाएको छ ।

पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्क (एडीबी)ले सहुलियत ऋणमा चार लेनको बन्दै छ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ ।

प्रतियोगितामा पञ्चमाया र दिपन विजयी

सो प्रतियोगितामा ५ जना महिला र ५ जना पुरुष फाइनलमा पुग्नुभएको थियो । जसमध्ये महिला तर्फ पञ्चमाया तामाङ प्रथम हुनुभएको छ । उहाँले ५० हजार ५ सय, मेडल र प्रमाणपत्रसहित एस्ट्रेक वाल क्लाम्बिङबाट १ वर्षको वाल क्लाम्बिङ कोर्स पाउनु भएको छ । त्यस्तै दित्तिय रुषा प्रधान हुनुभयो, उहाँले २० हजार, मेडल र प्रमाणपत्रसहित एस्ट्रेक वाल क्लाम्बिङबाट ६ महिनाको वाल क्लाम्बिङ कोर्स पाउनु भएको छ । त्यस्तै जापानकी सावा सुचिता तृतीय हुनुभयो । उहाँले १० हजार र एस्ट्रेक क्लाइम्बिङबाट तीन महिनाको वाल क्लाइम्बिङ कोर्स पाउनुभएको छ ।

यस्तै पुरुष तर्फ प्रथम दिपन गुरुङ, वित्तीय सुलभ राई र तृतीय तेन्जिङ राई हुनुभएको छ । उहाँहरूले क्रमशः ५० हजार ५ सय, २० हजार र १० हजार सहित मेडल, प्रमाणपत्र र क्रमशः १ वर्ष, ६ महिना र ३ महिनाको निःशुल्क एस्ट्रेक वाल क्लाम्बिङबाट वाल क्लाम्बिङ कोर्स पाउनु भएको छ ।

इन्जिनियर जुद्ध बहादुर गुरुङले गण्डकी प्रदेशमा १० हजार ५ सय वटा पर्यटन सम्बन्धी कम्पनी रहेको बताउनुभयो । गण्डकी प्रदेशमा ३२ किसिमका पर्यटकीय गतिविधि गरिने गुरुङ बताउनुहुन्छ ।

उक्त प्रतियोगितामा जापान, नेदरल्यान्ड र नेपालका गरी ३८ जनाले सहभागिता जनाएको क्लबका उपाध्यक्ष सुमन गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button