तपाईँ सुन्दै हुनुहुन्छः

गाउँकै व्यवसायमा सन्तुष्ट, कमल र कमला

दोलखा।ग्रामीण क्षेत्रमा पशुपालन र कृषि पेशा पनि व्यवसायीक हुनसक्छ भन्नेमा धेरैलाई आशङ्का छ । तर दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेका कमल कार्की भने यो पेशामा सफल भएका छन् ।

छ वर्ष दुबई बसेर कमाई गर्दा पनि सन्तुष्ट बन्न नसकेको उनको मन गाउँमै पशुपालन तथा कृषि व्यवसाय सुरु गरेपछि सन्तुष्ट बनेको छ । उनको यो पेशामा श्रीमती कमला कार्कीले दरिलो साथ दिएकी छन् ।

विदेशमा गरिने मेहेनत आफ्नै गाउँघरमा गर्ने हो भने परिवारसँगै रमाएर पनि उताको भन्दा बढी आम्दानी गर्न सकिन्छ – कमलले भनुभयो । आफ्नो यो व्यवसायलाई तामाकोसी गाउँपालिका र प्रदेश सरकारले समेत सहयोग गरेकोले थप बल मिलेको कमलको भनाई छ ।

छ वर्ष दुबई बसेर फर्किए पछि उनले २०७० सालबाट आफ्नै गाउँमा बाख्रा, भैँसी तथा कुखुरा पालन र मौसमी तथा बेमौसमी तरकारी खेती समेत सुरु गरे । व्यवसायले गति लिन थालेपछि २०७४ सालमा कमला बाख्रा तथा कुखुरा फर्म दर्ता गरेर वैधानिक ढङ्गले व्यवसायलाई अगाडि बढाए ।

अहिले उनको फर्ममा ११ वटा बाख्रा, १८ वटा बोका र एउटा भैँसी समेत रहेको छ । पशुपालन तथा तरकारी खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको कमलले बताए । पाँच जनाको परिवारमा उनको एउटा छोरा काठमाडौँमा इन्जिनियर पढ्दै छन् भने अर्को छोरा अहिले नेपाली सेनामा जागिरे छन् । छोरी पनि काठमाडौँमै पढ्दै छिन् । परिवारको गुजारा र छोराछोरीको पढाई पशुपालन तथा कृषि व्यवसायबाटै सम्भव भएको कमलले बताउनुभयो ।

कमल र उनको श्रीमती कमलाको मेहेनेत देखेर तामाकोसी गाउँपालिकाले सुरुमा गोठ सुधारको लागि २० हजार सहयोग गरेको थियो । अहिले थप ६० हजार सहयोग गरेको कमलले बताए । उनलाई बागमती प्रदेश सरकारले समेत व्यवसाय सञ्चालनको लागि ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

कमल तथा कमला कार्कीले पशुपालन तथा कृषि व्यवसायमा राम्रो मेहेनत गरेकोले गाउँपालिकाले सहयोग गरेको अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो। गाउँपालिकाले ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न किसानहरूलाई सहयोग गर्दै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उनको फर्ममा ४७ केजीसम्मको खसी रहेको छ । आफूले एउटा खसी बिक्रीबाट कम्तीमा २० हजार र बढीमा ४७ हजारसम्म लिएको कमलले बताउनुभयो। बोकालाई प्रजननमा लगाएर समेत उनले आम्दानी गरेका छन् । उनले पाठी पनि पाँच हजारको दरले बिक्री गर्दै आएका छन् । त्यसै गरी उनले दूध, तरकारी र कुखुरा बिक्रीबाट समेत राम्रो आम्दानी गर्दै आएका छन् ।

सुरु सुरुमा उनले आफूले उत्पादन गरेको तरकारी तथा खसी, बाख्राहरू गाउँमै बिक्री गर्दै आएका थिए । त्यसपछि सदरमुकाम चरिकोट र अहिले राजधानी काठमाडौँमा समेत बिक्रीको लागि लाने गरेको कमलले बताउनुभयो।

श्रीमानसँग गाउँमै कृषि पेशा गर्न पाउँदा श्रीमती कमला कार्की खुसी देखिन्छिन् । गाउँपालिका र प्रदेश सरकारले सहयोग गरेकोले व्यवसायलाई प्रोत्साहन मिलेको छ कमलाले भनिन् – तर बैङ्कहरूले गाउँको व्यवसाय भनेर सहुलियत ऋण सहयोग नगरेकोले भने दुख लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button