अर्मादीमा सैनिक स्मारक बनाउने
पर्वत।पर्वतको कुश्मा नगरपालिका २ अर्मादीमा नेपाली सेनाले सैनिक स्मृति स्मारक बनाउने भएको छ ।१३ सय वर्ष अघि पर्वत राज्यका शक्तिशाली राजाका सेनाले कलाकौशल देखाएर युद्ध जितेको ईतिहाँस सँग सम्बन्धित लेखोट भेटिएपछि अर्मादीमा सैनिक स्मृति स्मारक बनाउने भएको हो । सैनिक स्मारक बनाउनका लागि आइतबार स्थानीय बासिन्दा सँग अन्तरक्रिया गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको विशेष उपस्थितिमा विज्ञहरू मार्फत छलफल चलाइएको थियो । अर्मादीको ऐतिहासिक पृष्ठभूमि र तत्कालीन राज्यको बारेमा गुरुङले जानकारी दिनुभयो । आज भन्दा करिब १३ सय वर्ष अगाडी यहाँ सैनिक कलाकौशलयुक्त राजा रहेको र विजय हासिल गर्दै आएको ईतिहाँस रहेको बताउनुभयो ।कुनै बेला अर्मादीमा अरिमुण्डि नामका राजाको राज्य रहेको लिखोट भेटिएको गुरुङले दाबी गर्नुभयो ।
अरिमुण्डि राजाको राज्य भएको हुनाले यस ठाउँलाई अरिमुण्डि भन्दाभन्दै अर्मादी नाम रहेको उहाँले अवगत गराउनुभयो । सेनाको विजयी सुरुवात यसै ठाउँबाट भएको ठहर गरी अर्मादीमा सैनिक स्मृति स्मारक राख्न आफूले सुझाव दिएको गुरुङले बताउनुभयो । नेपाली सेनाका महासेनानी पदमबहादुर बुढाले रिसर्च गर्दा समेत तत् सम्बन्धी प्रमाणहरू भेटिएको उक्त अवसरमा चर्चा गरियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सडानन्द पौडेलले पनि अर्मादीको महत्त्वलाई जोगाउन सैनिक स्मृति स्मारक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अर्मादीमा सेनालाई स्मृति स्मारक बनाउनका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गर्ने बताउनुभयो । तथ्य र प्रमाणहरूको अभिलेखहरू लाई संरक्षण गर्नका लागि नगरपालिकाले पनि पहल गर्ने जोशीले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख सीता काफले लामिछाने, कुश्मा नगरपालिका २ का वडाध्यक्ष यदुनाथ शर्मा बास्तोला, स्थानीय राजनीतिक दलका प्रमुखहरू, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्