माओवादी केन्द्रको आठौँ राष्ट्रिय अधिवेशन सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनले लिने निर्णयले देशको राजनीतिलाई नयाँ दिशा दिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले दलहरू बिच सहकार्य र एकता कायम गरी राष्ट्रिय राजनीतिका सबै समस्याहरूको समाधान खोज्न महाधिवेशनले महत्त्वपूर्ण दिशानिर्देश गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेकपा एमाले र माओवादी बिचको एकताबाट गठन भएको नेपाल कम्युनिस्ट पार्टी जोगाउन नसक्नु ठूलो कमजोरी भएको बताउँदै सबै पक्षले यसको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन संविधानको कार्यान्वयनका लागि बनेको हुनाले पुरा समय कायम रहने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले दलहरू बिचको सहकार्य र एकताबाट संविधान बनेको हुनाले यसको कार्यान्वयनका लागि पनि दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले राजनैतिक स्थायित्वका लागि संसद्ले पुरा समय काम गरोस् भन्ने लक्ष्यका गठबन्धन बनेको हुनाले यो कुनै राजनैतिक दलविरुद्ध नभएको समेत स्पष्ट पार्नुभयो ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले दलहरू बिचको आपसी छलफल र सहमतिबाट नै एमसिसि सम्झौताका सम्बन्धमा निर्णय लिने बताउनुभयो ।
आर्थिक सहायता प्राप्त गर्ने अन्तर्राष्ट्रिय प्रावधान र सर्त सम्बन्धी प्रावधान अनुसार नै एमसिसि सम्झौता भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले वास्तविकता नबुझी विरोध नगर्न तथा सरकारको काममा विश्वास गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै प्रकारका सामाजिक विभेदको अन्त्य गरी समुन्नत र समतामूलक समाज निर्माणमा राजनैतिक दलहरू केन्द्रित हुनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सबै प्रकारका तानाशाही चिन्तनको अन्त्य गरी विधिको शासन स्थापित नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्ने नसक्ने बताउनुभयो ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनैतिक दलहरूबिच वैचारिक मतभेदहरू रहे पनि राष्ट्रियता, देशको सामाजिक आर्थिक रूपान्तरण, परराष्ट्र नीति जस्ता मुद्दामा एकता र सहकार्य हुनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान सबैलाई स्वीकार्य बनाउन संसद्को अवरोध अन्त्य गरी संविधान संशोधन गर्न दलहरू सहमत हुनुपर्ने बताउनुभयो ।

महाधिवेशन स्थलमा जनयुद्धको स्मरण गर्ने तस्बिर लगायतका सामग्री प्रदर्शन गरिएको छ । यस्तै कलाकारले माओवादीको आठौँ महाधिवेशनका सन्दर्भमा तयार पारिएको गीत समेत प्रस्तुत गरेका छन् ।
महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ ।
यस अघि नेकपा (माओवादी केन्द्र)को आज बसेको केन्द्रीय कमिटी बैठकले अधिवेशन पछि पार्टीमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय समिति रहने निर्णय गरेको छ ।
माओवादी केन्द्रले बहु पदीय व्यवस्थामा जाने गरी पारित गरेको विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
यसअघि शुक्रवार बसेको स्थायी कमिटी बैठकको सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन समेत गरेको छ ।
माओवादी केन्द्रले माओको १२९ औँ जन्म जयन्तीको अवसर पारेर आजदेखि तय गरेको राष्ट्रिय महाधिवेशन पुस १५ सम्मका लागि तय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान एक विज्ञप्ति जारी गर्दै नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभएको छ ।
उहाँले महाधिवेशन प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनसमुदायलाई नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन विज्ञप्तिमार्फत अपिल समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्