सुर्खेतमा मापसे सचेतना कक्षा शुरु

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मापसे सचेतना कक्षा शुरु गरेको छ । जिल्लामा मापसे गरी सवारी चलाउनेहरूबाट दुर्घटना बढ्न थालेपछि मादक पदार्थ सेवन जाँचलाई पुनः कडाइ गर्न लागिएको हो ।
ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउने विरुद्ध सञ्चालन गरेको ४५ मिनेटको कक्षा गत बिहीबारदेखि शुरु भएको छ । सुर्खेत ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जिल्लामा ट्राफिक सचेतनासँगै मापसे चेकजाँच अभियानलाई पुनः कडाइका साथ सञ्चालन गर्न लागिएको जनाउनु भयो ।
‘कोरोना सावधानी अपनाएर मापसे चेकजाँच गरिने र सकेसम्म मेसिनको प्रयोगलाई कम गर्ने योजना बनाएका छौँ,’ उहाँले भन्नु भयो, ‘आवश्यकता अनुसार मापसेलाई अस्पतालमा पु¥याएर चेकजाँच गरी कारबाहीको दायरामा ल्याउने छौँ ।’ उहाँले ट्राफिक नियम विपरीत कार्य गर्ने सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गर्न लागिएको रहेको जानकारी दिनु भयो ।
उहाँका अनुसार जिल्लामा २५ प्रतिशत सवारी दुर्घटना मापसे गरी सवारी चलाउनेहरूबाट भएको पाइएको छ । पछिल्लो पाँच महिना यता जिल्लाभरि भएका १४ वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा २ सय ५ जनालाई मापसे कारबाही गरिएको उहाँको भनाइ छ ।
नियमित रूपमा मापसे चेकजाँच अभियान थालेको सुर्खेत ट्राफिकले हालसम्म करिब एक सय जनालाई मापसे सचेतना कक्षा दिएको जनाएको छ । मापसे सचेतना कक्षाको उद्घाटन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गराई सडक अनुशासन एवं सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको औँल्याउनु भयो । उहाँले मादक पदार्थ सेवनकर्ताका कारण सवारी दुर्घटना वृद्धि हुँदा आर्थिक, सामाजिक तथा मानवीय क्षति हुने गरेकाले यसलाई रोक्नु सबैको जबाफदेहिता रहेको बताउनु भयो ।
८० प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेकाले ट्राफिकबाट मापसे कक्षा सञ्चालन गरिनु असल अभ्यासको सुरुवात भएको उहाँको भनाइ थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले कर्णाली प्रदेशका सबै जिल्लाहरूमा ट्राफिक सचेतना अभियानहरू सञ्चालन गर्नका लागि मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले मापसे रोकथाम नियन्त्रण एवं ट्राफिक सचेतना अभियान सुर्खेतमा मात्र सीमित नराखेर प्रदेशभर सञ्चालन गर्न सुझाव दिनुभयो । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले अधिकांश मापसे गरी सवारी चलाउनेहरू मृत्युलोक पुग्ने गरेकाले सडक दुर्घटना चौथो ‘किलर’का रूपमा रहेको बताउनुभयो ।
उहाँले कर्णालीमा पछिल्लो पाँच महिना यता २०६ वटा सवारी दुर्घटनामा परी १०५ जनाको मृत्यु, २०१ जना गम्भीर घाइते र १६० जना सामान्य घाइते भएको जानकारी दिनुभयो । अब प्रदेशभरि सडक दुर्घटना न्यूनीकरणका ट्राफिक सचेतनासँगै मापसे अभियानलाई कडाइका साथ लागु गरिने उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्