तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा मतदाता नामावली सङ्कलन कार्य तीव्र, सेवाग्राहीको भिड

बीरगंज ।  पर्सा जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । 

जिल्ला निर्वाचन कार्यालय पर्साले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत पहिलो चरणमा ९ हजार ९ सय ५५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले मङ्सिर १७ गतेदेखि पुस २ गते सम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत पहिलो चरणमा ९ हजार ९ सय ५५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिनुभयो । 

अभियानअन्तर्गत पुस ४ गतेबाट सञ्चालन भएको दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियान अन्तरगत अहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय पर्सा बाहेक विभिन्न ६ स्थानबाट नामावली सङ्कलन गर्ने कार्य भइरहेको प्रमुख झाले बताउनुभयो ।

पहिलो चरणमा पोखरीया नगरपालिकामा ११ सय ६०, कालिकामाई गाउँपालिकामा ९ सय ७६, सखुवाप्रसौनी गाउँपालिकामा २१ सय ८८, जिराभवानी गाउँपालिकामा ११ सय ३६, बहुदरमाई नगरपालिकामा १३ सय ७४, पकहामैनपुर गाउँपालिकामा १२ सय ९८, जगरनाथपुर गाउँपालिकामा १८ सय ३९ जना गरी ९ हजार ९ सय ५५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रमुख झाले बताउनुभयो । 

त्यसैगरी, दोस्रो चरण अन्तरगत अहिले पुस ४ गतेदेखि वीरगंज महानगरपालिका क्षेत्रको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्य भइरहेको र पर्साको ग्रामीण क्षेत्र अन्तरगत ठोरी, पटेर्वा सुगौली, पर्सागढी, छिपहरमाई, विन्दवासिनी र धोबिनी गाउँपालिकामा मतदाता नामावली सङ्कलन कार्य जारी रहेको र यो अभियान आगामी पुस १७ गतेसम्म सञ्चालन हुने प्रमुख झाले बताउनुभयो ।

पर्सा जिल्लामा मतदाता नामावली सङ्कलन गर्नुभन्दा अगाडी ३ लाख ९ हजार ४ सय ३७ जनाको नामावली दर्ता भइसकेको र यसअघि, सम्पन्न स्थानीय, संसदीय तथा प्रदेशसभाको निर्वाचनमा ३ लाख १ हजार ५ सय मतदाताको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । 
आगामी बर्ष निर्वाचन बर्ष भएको र वर्षको सुरुवातमै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेसँगै अहिले राजनीतिक दलहरू आ–आफ्ना गाउँमा मतदाता बढाउन नामावली दर्ता अभियानमा जुटेका छन् । 

दलहरू सक्रिय हुँदा मतदाता नामावली सङ्कलनका लागि अहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलगायत गाउँमा खटिएको सङ्कलन केन्द्रमा सेवाग्राहीको ठूलो भिड लाग्ने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button