तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकको स्वस्थ, सम्मानित र मर्यादित जीवनयापनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको स्वस्थ, सम्मानित र मर्यादित जीवनयापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक र प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिक सम्बन्धी बनेका कानुनलाई समयानुकूल परिमार्जन गर्न सरकार लागिपरेको बताउनुभयो ।

 प्रधानमन्त्री देउवाले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन र थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित  सदुपयोग गर्दै त्यसलाई नयाँ पिँढीमा हस्तान्तरण एवं पुस्तान्तरण गर्नु जरुरी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र सृजनशीलता राज्यलाई उपयोगी हुने बताउनुभयो ।

मन्त्री खाँडले ज्येष्ठ नागरिकको सम्मान, हेरचाह र सुरक्षा गर्न सरकारको दायित्व रहेको भन्दै त्यसप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सम्मान आवश्यक रहेको बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकको सेवा सुविधा र अधिकारका लागि बनेका संवैधानिक व्यवस्थाको कार्यान्वयनमा मन्त्रालयले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकको सम्मान सहितको जीवन यापनका लागि सरकारसँगै परिवारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले आवश्यक स्थानमा ज्येष्ठ नागरिक अस्पतालका लागि पहल गरिरहेको र ज्येष्ठ नागरिकको स्वास्थ्यका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि घरघरमै सामाजिक सुरक्षा भत्ता पुर्‍याउनका लागि स्थानीय तहलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुन नदिन मन्त्रालयले सम्बन्धित पक्षसँग समन्वय गरिरहेको बताउनुभयो । 

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिक समाजका लागि ईश्वरीय वरदान भएको बताउँदै सबै ज्येष्ठ नागरिकले सन्तोषले जीवन जिउन सक्ने वातावरण बन्नुपर्ने धारणा राख्नुभयो ।

ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकलाई समय सापेक्ष थप सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राख्नुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीसँगै उपस्थित अन्य ज्येष्ठ नागरिकहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सभ्य नागरिकको पहिचान, ज्येष्ठ नागरिकको सम्मान भन्ने नाराका साथ आज प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button