गण्डकी प्रदेशमा १२ लाखले लगाए कोभिड विरुद्धको पूर्ण खोप

कास्की । गण्डकी प्रदेशमा करिब १२ लाख जनसङ्ख्याले कोभिड विरुद्धको पूरा डोज खोप लगाएका छन् ।
२५ लाख जनसङ्ख्या रहेको गण्डकी प्रदेशमा ११ लाख ९३ हजार ६ सय ५८ जनाले कोरोनाको पूरा डोज खोप लगाएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले बताउनुभयो ।
उहाँकाअनुसार अहिले प्रदेश भरी १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज खोप लगाएका छन् ।
प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ यस अघि नै पूर्ण खोप जिल्ला घोषणा भएका छन् ।
मनाङमा पहिलो डोज लगाउने पाँच हजार दुई सय ३४ रहेका छन् भने चार हजार ६ सय १५ ले पूरा डोज खोप लगाएका छन् ।
मुस्ताङमा १४ हजार एक सय १० जनाले पहिलो खोप लगाएकोमा १३ हजार ६ सय २८ ले दोस्रो डोज खोप लगाइसकेका छन् । अन्य नागरिकले फरक जिल्लामा पुगेर भए पनि खोप लगाइसकेको संयोजक शर्माले बताउनुभयो ।
गोरखामा एक लाख ५२ हजार एक सय ४४ जनाले पहिलो डोज लगाएकोमा एक लाख ११ हजार सात सय ६५ ले दोस्रो डोज लगाइसकेका छन् ।
म्याग्दीमा ६७ हजार तीन सय ४१ ले पहिलो डोज र ५५ हजार एक सय १० जनाले दोस्रो, कास्कीमा तीन लाख ८४ हजार एक सय ९४ जनाले पहिलो डोज र तीन लाख ९६ हजार आ७ सय ६३ जनाले दोस्रो डोज लगाएका छन् ।
अन्य जिल्लामा पहिलो डोज लगाएर आएकाहरूले पनि प्रदेश सदरमुकाम दोस्रो डोज पाएकोले तथ्याङ्क तलमाथि परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लमजुङमा एक लाख २४ हजार नौ सय ३४ ले पहिलो डोज र ८७ हजार आठ सय दुई जनाले दोस्रो डोज पाएका छन् ।
यस्तै, तनहुँमा दुई लाख तीन हजार चार सय ७४ जनाले पहिलो डोज र एक लाख १२ हजार ६ सय ९५ जनाले दोस्रो डोज, स्याङ्जाका एक लाख ८० हजार सात सय ८१ ले पहिलो र एक लाख ४८ हजार नौ सय २२ ले पूरा डोज खोप लगाएका छन् ।
पर्वतका ८५ हजार तीन सय १५ ले पहिलो डोज र ७४ हजार एक सय १४ ले दोस्रो, बागलुङबाट एक लाख ४७ हजार एक सय ३७ ले पहिलो डोज लगाएकोमा ८५ हजार नौ सय ५४ ले दोस्रो तथा नवलपुरका दुई लाख १७ हजार दुई सय ८३ ले पहिलो डोज र एक लाख दुई हजार एक सय ९० ले पूरा डोज खोप लगाएका छन् ।
लक्षित वर्गका लागि खोप पर्याप्त आयात भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशमा १८ वर्ष उमेर समूहका करिब ९० प्रतिशतले खोप लगाएको संयोजक शर्माले बताउनुभयो ।
प्रदेशमा हालसम्म ८८ हजार संक्रमित भएकोमा एक हजार चार सय २५ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्