तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीको १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी १५ सदस्यीय रहने टुङ्गो लगाएको छ । 

माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी १५ सदस्यीयसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति रहने निर्णय गरेको हो । 

माओवादी केन्द्रले बहुपदीय व्यवस्थामा जाने गरी पारित गरेको विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने निर्णय भएको माओवादी केन्द्रिय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।  

माओवादी केन्द्रले यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएकोमा त्यसलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ । 

यसअघि शुक्रवार बसेको स्थायी कमिटी बैठकको सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन समेत गरेको छ । 

सो महाधिवेशनको आज दिउँसो ३ बजे प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

महाधिवेशनका लागि मनोनीतसहित प्रतिनिधि एक हजार ६ सय ३१ जना रहने व्यवस्था गरिएको छ ।

माओवादीको आजदेखि हुने महाधिवेशन उद्घाटन समारोहमा विभिन्न ११ राजनीतिक दलका नेताहरूलाई बोलाउने निर्णय पनि गरेको छ । 

केन्द्रीय कार्यालयका सचिव ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरूलाई अतिथिको रुपमा बोलाइएको छ । 

यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरू नबोलाउने निर्णय माओवादीले गरेको थियो ।

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रूपान्तरण गरिएपछि एक बजेका लागि राखिएको उद्घाटन समारोह तीन बजेसम्मका लागि सारिएको छ ।

माओको १२९ औँ जन्म जयन्तीको अवसर पारेर आजदेखि तय गरेको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि पूर्वनिर्धारित ३ दिनमा २ दिन थपिन सक्ने माओवादी केन्द्रको अनुमान छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  आज बिहान विज्ञप्ति जारी गर्दै नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभएको छ । 


उहाँले महाधिवेशन प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनसमुदायलाई नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन विज्ञप्तिमार्फत अपिल समेत गर्नुभएको छ । 

तबिर : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button