काँग्रेस प्रदेश २ को सबै पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवार विजयी

जनकपुरधाम । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको प्रदेश नंं २ को निर्वाचनमा सबै पदाधिकारीहरूमा संस्थापन पक्षका उम्मेदवारहरू विजयी हुनुभएको छ ।
शुक्रवार अबेर राति सभापति बाहेकका सबै पदाधिकारीहरूको सार्वजनिक भएको मत परिणाम अनुसार प्रदेश उपसभापति पदमा प्रदेश नंं २ को महिला, बालबालिका तथा खेलकुद मन्त्री समेत रहनुभएका सर्लाहीका नेता वीरेन्द्र प्रसाद सिंहले १ हजार १९ मत सहित विजयी हुनुभएको छ । उहाँ सर्वाधिक मतसहित पदाधिकारी निर्वाचित हुनुभएको हो ।
यसैगरी, संस्थापन पक्षकै अर्का उपसभापति पदका उम्मेदवार चन्द्रशेखर कुमार यादवले ८ सय ६० मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धा धनलाल ठोकरले ६ सय ३६ मत तथा विनोद खनालले ७ सय ४० मत ल्याउनुभएको थियो ।
त्यस्तै, प्रदेश महामन्त्री पदमा संस्थापन पक्षका उपेन्द्रकुमार यादवले ८ सय ७९ मत र बृहस्पति कुमार श्रेष्ठले ८ सय ८८ मतसहित विजयी हुनुभएको छ ।
महामन्त्री पदका संस्थापन इतरका उम्मेदवारहरू नरेश कुमार यादवले ७ सय ७५ र हरेश प्रसाद महतोले ७ सय ३ मत ल्याउनुभएको थियो ।
यसैगरी खुल्ला तर्फको सह–महामन्त्रीमा संस्थापन पक्षकै जयनारायण यादवले ८ सय ७९ मत र परशुराम चौधरीले ८ सय २२ मत सहित विजयी हुनुभएको छ भने संस्थापन इतरका विनोद कुमार यादवले ६ सय ९१ मत तथा नारायण चौधरीले ६ सय १ मत ल्याउनुभएको छ ।
त्यस्तै, प्रदेश महिला सह–महामन्त्रीमा विन्दु कुमारी यादवले ८ सय ८९ मत ल्याएर विजयी हुनुभएको छ भने संस्थापन इतरका भिमा देवी शर्माले ५ सय ३२ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक प्रहलाद गौतमले जानकारी दिनुभयो ।
यता प्रदेश महामन्त्री पदका संस्थापन इतरका नरेश कुमार यादवले मतगणनामा गडबडी भएको भन्दै निर्वाचन समितिमा उजुरी दिनुभएको छ ।
यसअघि नै प्रदेश नंं २ को प्रदेश सभापति पदमा संस्थापन पक्षकै रौतहट जिल्लाका पार्टी सभापति कृष्णप्रसाद यादव निर्वाचित भइसक्नुभएको छ ।
प्रदेश सभाका सदस्यहरूको मतगणना पनि जारी रहेको छ । प्रदेश सभाका प्रायः सदस्यहरु पनि संस्थापन पक्षका अग्रता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्