हाइकु सङ्ग्रह ‘ऐलानी घाम’ को लोकार्पण
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यकार दिल पौडेलको आठौँ कृति हाइकू सङ्ग्रह ‘ऐलानी घाम’ को विमोचन गर्नुभएको छ ।
नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा कुलपति उप्रेतीले कोरोनाको महामारी फैलिए पछिको बन्दाबन्दीका समयमा लेखक पौडेलले समयको सदुपयोग गर्दै आफ्नो प्रतिभाको प्रस्फुरण गरेर उक्त कृतिको सिर्जना गरेकामा खुसी व्यक्त गर्नुभयो । कुलपति उप्रेतीले नयाँ नयाँ प्रयोग गर्दै लेखकले हाइकु विधामा फरक पहिचान कायम गर्न कोसिस गरेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले साहित्यकार पौडेलले प्रकृति, जीवन र समयसापेक्षतालाई आत्मसात् गरेर व्यङ्ग्य प्रधानयुक्त हाइकुहरूको सङ्ग्रह प्रकाशन गरेको बताउनुभयो । पाँच, सात र पाँच गरी १७ अक्षरमा हाइकु रचना गरिन्छ ।
समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले लघुतम विषयमा लेखक र पाठकको आकर्षण देखिएका बेला उक्त कृति बजारमा आएको भन्दै स्रष्टाहरूले जटिल नभई सरल तथा सम्प्रेषणीय शैलीमा सिर्जना गर्नुपर्ने बताउनुभयो ।
अर्का समालोचक डा यज्ञेश्वर निरौलाले जापानी साहित्यबाट आएको हाइकु विधालाई नेपालमा स्थापित गराउने क्रममा प्रस्तुत कृति महत्त्वपूर्ण हुने बताउनुभयो । नागार्जुनका अध्यक्ष प्रकाश सिलवालले हाइकु विधामा विज्ञसहित सङ्गोष्ठी र प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरिने योजना सुनाउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्