तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्ती धपाउन जाँदा झापामा पाँच जना घाइते

भद्रपुर, झापा । मध्यरातमा जङ्गलबाट निस्किएर राजमार्गतिर आउन खोजेको जङ्गली हात्ती धपाउन जाँदा झापामा पाँच जना घाइते भएका छन् ।

झापाको कमल गाउँपालिका– ३ स्थित सानो केर्खामा बिहीबार राती करिब ११ बजे उत्तरतर्फको जङ्गलबाट निस्किएको जङ्गली हात्ती धपाउन राजमार्गमा निस्किएको समूहका ५ जना एउटै मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र ३–०२–०१४ प ७३५१ नम्बरको मोटरसाइकलले सो ठाउँमा जङ्गलबाट निस्किएको हात्ती धपाउन निस्केका कमल–३ की ३४ वर्षीया सीता भट्टराई, २२ वर्षीय विक्रम गिरी, २० वर्षीय सुगम भण्डारी र ५० वर्षीय डिल्लीराज रायमाझीलाई ठक्कर दिएर घाइते बनाएको छ भने मोटरसाइकल चालक शिवसताक्षी १ का २५ वर्षीय सागर गड्तौला र पछाडि सवार सोही ठाउँका विकास माझी पनि घाइते भएका छन् । 

स्थानीयको दमकस्थित आम्दा र लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक बढी घाइते भएको र उनको र थापाको बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button