‘अब भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत् खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको छ ।
मन्त्रालयका आगामी योजनाबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले ग्यास चुल्हो तथा पेट्रोलियम पदार्थको प्रयोगलाई विद्युतीय विद्युतीय उपकरणबाट विस्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

मन्त्री भुसालले विद्युतीय चुल्हो बाटा खाना पकाउन प्रयोग हुने एलपि ग्यासलाई विस्थापित गर्न सके वार्षिक ४० अर्ब भन्दा बढी राज्यको व्यापार घाटा कम गर्न सहयोग पुग्ने तथा पर्यावरणको संरक्षण लगायत बहु आयामिक फाइदा पुग्ने बताउनुभयो ।
मन्त्री भुसालले विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न घर भाडामा बस्ने व्यक्ति समेत प्राधिकरणको ग्राहक बनी छुट्टै मिटर लिन सक्ने व्यवस्था मिलाउन लागेको समेत बताउनुभयो ।
पत्रकार सम्मेलनमा विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले २० युनिट सम्मको घरायसी प्रयोगमा महसुल छुट दिने सरकारको निर्णय पछि झन्डै ३० प्रतिशतले विद्युतको खपत बढेको उल्लेख गर्नुहुँदै विद्युतीय उपकरणको आयातमा भन्सार छुट लगायतका सहुलियत दिन सके सरकारको योजनाबाट विपन्न वर्गका ग्राहकले समेत लाभ लिन सक्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्