जनताको भावना अनुसार एमसीसीको अगाडि बढ्छ : नेता नेपाल

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको भावना र चाहना बुझेरमात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
एमसीसीको अन्तरबस्तु र जनताको भावना दुवैलाई बुझेरमात्र अघि बढ्ने उहाँले बताउनुभयो । एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाई छ ।
शुक्रवार सल्यान खलङ्गामा आयोजना पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरी आए मात्र एमसीसी पास हुने नत्र नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, नेपालको सार्वभौमिकता, राष्ट्रियतालाई आँच आउने र सैन्य रणनीति अनुरूप एमसीसी आएको भए कुनै पनि हालतमा पास नहुने उनको तर्क रहेको छ ।
अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ छ भने हामी स्वीकाछौं । अन्यथा सैन्य रणनीति र नेपालको सार्वभौमिकतामाथि खलल पर्ने विषयमा कदापि स्वीकादैनौं । उहाँले घुमाउरो पाराले एमसीसीका केही बुँदा संशोधन गराएर पास गर्नु पर्ने बताउनुभयो ।
अर्को एक प्रसङ्गमा नेता नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताउनु भएको छ । दक्षिणपन्थी शक्तिको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरी रहेको र ओलीको उक्त योजना कुनै पनि हालतमा सफल नहुने बताउनुभयो । ओलीले एमसीसीलाई दाउपेच बनाएर गठबन्धन टुटाउन प्रयास गरे पनि त्यो सम्भव नभएको उहाँको दाबी छ ।
आउँदो निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउँदै सरकार सञ्चालनका लागि पनि वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक रहने नेपालको भनाई छ । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिसँग गठबन्धन हुने तर दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग कुने पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्