तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज आइसिपी भन्सारद्वारा लक्ष्य भन्दा बढी राजस्व असुली

वीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रूपमा स्थापित वीरगंज आइसिपी भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा ८८ अर्ब ६९ करोड ९२ लाख १ हजार रुपैयाँ राजस्व असुली गरेको छ । 

भन्सार विभागले तोकेको लक्ष्य भन्दा पनि ७ प्रतिशत बढी राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमण नियन्त्रणमा आएसँगै आयात निर्यात बढेपछि वीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले  बताउनुभयो । 

वीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले ५ महिनामा ८२ अर्ब ६१ करोड, २५ लाख २९ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । लक्ष्य भन्दा  ६ अर्ब ८ करोड ६६ लाख ७२ हजार बढी राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । 

वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को ५ महिनामा भन्सार राजस्व तर्फ ३२ अर्ब १९ करोड ३३ लाख १६ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ ३४ अर्ब १६ करोड ८९ लाख ३० हजार राजस्व असुली भएको छ । त्यसै गरी अन्त शुल्क तर्फ १० अर्ब ७८ करोड ६१ लाख १५ हजार असुली गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो । 

त्यसै गरी वीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ ६ अर्ब ३७ करोड ०४ लाख ३२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ ५७ करोड ७९ लाख ३३ हजार असुली गरेको छ । 

यसैगरी वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ १ अर्ब ६० करोड २८ लाख ७५ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा २ अर्ब ८० करोड ६५ लाख ३२ हजार असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

आइसिपी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  चालू आवको सोही अवधिमा गत वर्ष भन्दा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button