कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो । प्रदेश सभापति पदमा संस्थापन पक्षका रौतहट जिल्लाका पार्टी सभापति कृष्ण प्रसाद यादव उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस प्रदेश नंं २ का संसदीय दलका नेता एवं प्रदेश नंं. २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मत अन्तरले पराजित गर्दै विजयी हुनु भएको हाे ।
कूल खसेको मत मध्ये निर्वाचित यादवको पक्षमा ९ सय ९६ मत तथा निकटतम प्रतिस्पर्धी संस्थापन ईतरपक्षका उम्मेदवार रामसरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नु भएको हाे । कूल १ हजार ९ सय ३६ मतदाता मध्ये १ हजार ८ सय ८१ जना मतदाताले मतदान गरेकोमा ३० वटा मत बदर भएको छ ।अन्य पदाधिकारीहरूको मत गणना सुरु भएको निर्वाचन समितिका संयोजक प्रलाद गौतमले जानकारी दिनु भयाे ।

हिजो राति ११ बजे देखि मतगणनाको काम सुरु भएको थियो । यसै बीच निर्वाचित हुनु भएका प्रदेश नंं २ का सभापति कृष्णप्रसाद यादवले आज पत्रकारहरूसँग कुरा गर्दै आन्तरिक प्रतिस्पर्धा भएको बताउँदै अब प्रदेश २ मा नेपाली कांग्रेसलाई बलियो पार्टी बनाउनका लागि निकटतम प्रतिस्पर्धीसंग मिलेर कामकाज गर्ने बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्