सफा र सुन्दर नगर बनाउने अभियानमा जुट्दै चन्दननाथ नगरपालिका

जुम्ला । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिका गुनासो खेप्दै आएको छ । स्मार्ट सिटी बनाउने योजना सहित निर्वाचनमा होमिएर जितेकी मेयर कान्तिका सेजुवाल, सुन्दर हरियाली नगर बनाउने एजेण्डा सहित उपमेयरमा जितेकी अप्सरादेवी न्यौपाने लगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रूपमा गर्न सकेनन् ।
जसका कारण आम नगरवासी असन्तुष्ट थिए । मेयर उपमेयरको विवाद, प्रमुख प्रशासकीय अधिकृत नटिक्ने, नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका विभिन्न प्रयास पनि असफल भए । तर अहिले भने चन्दननाथ नगरपालिका सुन्दर नगर बनाउने योजना सहित फोहोर व्यवस्थापनमा जुटेको छ ।
फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर हामी अघि बढिरहेका छौ । प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले भन्नुभयो, “विगतका के कारण फोहोर व्यवस्थापनदेखि अन्य काम लक्ष्य अनुसार भएन त्यो विषयमा समीक्षा गरौला । अब आम नागरिकका गुनासालाई मध्यनजर गर्दै करिब ४० वर्ष सम्म प्रयोग हुने डम्पीङ साइट सहित फोहोर व्यवस्थापनमा जुटेका छौ । स्थानीय नागरिक व्यापारी,पत्रकार कर्मचारीको साथको आशा छ ।”
बिहीबार पत्रकार सम्मेलन मार्फत फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर छिटो छरितो सेवा प्रवाह, विकास निर्माण तीव्रता, सूचना सन्देशलाई एकद्धार प्रणालीबाट अघि बढाउने अभियानमा रहेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले जानकारी दिनुभयो ।
कम्तीमा १० देखि १५ वर्ष सम्म फोहोर व्यवस्थापन हुने गरी चन्दनाथ नगरपालिका २ भण्डारीबाडाको (दुनादुनी) मा डम्पीङ साइटको व्यवस्थापन भएको छ ।
चन्दननाथका वातावरण तथा विपद् व्यवस्थापन उपशाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने स्थानीयले सहमति दिएपछि (दुनादुनी)मा डम्पीङ साइटको व्यवस्थापन गरी फोहोर फाल्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गाको उत्पादन बराबरको क्षतिपूर्ति दिनुपर्ने, ल्याण्डफिल्ड साइट सम्म जाने सडक स्तरबृद्धि गर्नुपर्ने स्थानीयको माग यथावत् छ । नगरपालिकाले टुक्रे योजना भन्दा क्रमागत योजनाका रूपमा डम्पिङ साइट जाने सडक निर्माण गर्नुपर्छ ।”
बजार क्षेत्रबाट कम्तीमा ६ किलोमिटर टाढा रहेको डम्पीङ साइट सम्म आरसिसी सडक निर्माण गर्नुपर्ने देखिन्छ । यद्धपी, हिमपात वर्षा भएपछि उक्त सडक हिलाम्य भएर फोहोर व्यवस्थापन गर्न मुस्किल हुने शाखा प्रमुख न्यौपानेको भनाई छ ।
फोहोर व्यवस्थापनलाई अभियानकै रूपमा सञ्चालन गरिएको सुन्दर नगर बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह गरिएको छ । बुधवार मात्रै इसाइ समाजले नगर सभा गरेको थियो । शुक्रवार नेपाली सेनाले गर्ने भएको छ ।
बरु कर लेउ फोहोर उठाऊ भनेर नारा लगाइ रहेका नगरवासीलाई फोहोर व्यवस्थापनको करमा पनि कुनै घटबढ नभएको नगरपालिकाले जनाएको छ । चर्को कर मात्र लिने फोहोर नउठाउने भन्दै गुनासो आएपछि चन्दननाथ फोहोर व्यवस्थापनमा जुटेको हो ।
हाल नगरपालिकाले घरायसी फोहोरमैला व्यवस्थापनबाट १ सय, व्यवसायीक फोहोर मैला व्यवस्थापनबाट ३ सय होटलबाट निस्कने फोहोर व्यवस्थापन बाट १ सय र उद्योगबाट निस्कन फोहोर व्यवस्थापन बापत १ हजार वार्षिक रूपमा कर लिने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्