अछामको रामारोशनमा १२ वडा पुर्याइने

अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा वडा विभाजन गरी वडाको सङ्ख्या १२ पुर्याइने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अछाम र बझाङका दुई गाउँपालिकाका वडा विभाजन गर्न सिफारिस गरे पछि वडा विभाजन हुन लागेको हो ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिस सहित विभिन्न पाँच वटा निर्णय गरेको हो ।
प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्याउने र बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्याउने निर्णय भएको बताउनुभयो । हाल रामारोशनमा ७ वटा वडा छन् भने मष्टामा हाल ९ वटा वडा रहेका छन् ।
“गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ’’ उहाँले भन्नुभयो ।
यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशको प्रथम पञ्चवर्षीय योजना आर्थिक वर्ष २०७८र७९ देखि २०८२र८३ को संक्षिप्त अवधारण पत्र स्वीकृत गर्ने, कर्मचारी भर्ना गर्ने निर्णय पनि गरिएको छ ।
तत्कालीन अवस्थामा एउटा गाविस एउटा वडा बनाइएको र हाल भौगोलिक विकटता रहेकाले वडाको सङ्ख्या बढाउन पालिकाले सिफारिस गरेको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो । व्यवहारिक रूपमा काम गर्न तथा जनतालाई सेवा दिन असहज भएकोले ठुला वडा विभाजन गर्न गाउँ सभाबाट निर्णय भएको उपाध्यक्ष रावलको भनाइ छ ।
हाल जिल्लामा १० पालिका र ९१ वडा छन् । रामारोशनमा वडा विभाजन भए जिल्लामा वडाको सङ्ख्या ९६ पुग्नेछ ।








प्रतिक्रिया राख्नुहोस्