स्थानीय उत्पादनको प्रवर्द्धन गर्न रत्ननगरमा ‘रत्ननगर महोत्सव’

चितवन । चितवनकै दोस्रो ठूलो महोत्सव मानिने रत्ननगर महोत्सव २०७८ को ११ औँ संस्करण पुस २७ देखि माघ ८ गतेसम्म हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २७ देखि माघ ८ गते सम्म रत्नगरको टिकौलीचौरमा हुने भएको हो । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सव गर्न लागिएको आज उवासंघ, रत्ननगरले सौराहामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य सङ्घ, रत्ननगरका अध्यक्ष अनिल श्रेष्ठले उद्योग, व्यापार, कृषि, पर्यटनको प्रवर्द्धन गर्न र कोभिड पछिको सुस्ताएको हरेक क्षेत्रलाई चलायमान बनाउन महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार थप अन्य स्थानीय कला र संस्कृति सहितको स्टल गरी करिब ३५० स्टलहरू रहने छ । महोत्सवमा करिब ३ लाख जनाले १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको मूल आयोजक समिति संयोजक समेत रहेका श्रेष्ठले बताउनु भयो । विगतका वर्षमा जस्तै बालबालिकाहरूका मनोरञ्जनका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने छ ।
यस्तै स्थानीय खानाको परिकार तथा पोल्ट्रीको प्रवर्द्धन गर्न महोत्सवको कार्यतालिका अन्तर्गत पुस २९ देखि माघ ३ गते सम्म ५ दिन रत्ननगरको टांँडी बजारमा चिकेन एण्ड एग फुड फेष्टिबल गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
फेष्टिबलमा जनजातिहरूको विशेष खाना, मासुका विशेष परिकार हुनेछ । त्यस्तै, यस पटक महोत्सवमा पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको र विभागीय टोलीको पनि सहभागिता रहने आयोजक समितिले जनाएको छ । पर्यटन प्रचार प्रसार गर्न चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरूको लागि सूचना केन्द्रको व्यवस्था गरिएको छ ।
महोत्सवमा अवलोकनकर्ताको आकर्षण, कला क्षेत्रको प्रवर्द्धन गर्न दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।
महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ । ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्