तनहुँमा सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको अम्रेनीमा सडकमै चालकहरूको स्वास्थ्य परिक्षण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजना र दमौली अस्पतालको प्राविधिक सहयोगमा बुधवार सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पृथ्वी राजमार्ग जिल्लाको व्यास–१ अम्रेनीको मुसे खोलामा चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले बताउनुभयो ।
विभिन्न खाले सवारीसाधनका चालकको स्वास्थ्य अवस्था र आँखा चेकजाँच गरी उनीहरूलाई आवश्यक स्वास्थ्य सम्बन्धी सल्लाह र परामर्श दिई सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यले सडकमै स्वास्थ्य परिक्षण गरिएको प्रमुख हमालले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य परीक्षणमा ६५ जनालाई आँखा चेकजाँच र प्रेसर जाँच गरिएको थियो । जसमा कलरभिजन डिफेक्ट ३ जनामा, रिफलेक्टिभ ईरर ७ जनामा, प्रेसवायोपिया ८ जनामा, हाई प्रिन्सिभ ४५ जनामा भएको देखिएको छ । १७ जनाको स्वास्थ्य सामान्य देखिएको प्रमुख हमालले जानकारी दिनुभयो ।
ग १३ प २५७७ सवारी साधन चालक व्यास–१ अम्रेनी निवासी ६९ वर्षीय कुमराज नहर्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले निःशुल्क रुपमा सवारी साधन चालकहरूलाई स्वास्थ्य परीक्षण गराउनु सुखद भएको बताउनुभयो ।
‘‘स्वास्थ्य चालक भयो भने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने हेतुले स्वास्थ्य परीक्षण गराएका हौँ’’ ट्राफिक प्रमुख हमालले भन्नुभयो ।
स्वास्थ्य परीक्षणका क्रममा आँखामा कमजोरी देखिएका व्यक्तिलाई चस्मा लगाउन र रक्तचाप भएकाहरूलाई खानपानमा ध्यान दिई स्वास्थ्य व्यवस्थापन गर्न सल्लाह प्रदान गरिएको छ ।
सवारी चालकको दमौली अस्पतालकी नेत्र सहायक लक्ष्मी चौधरी, अहेवद्वय सुमिक्षा पन्थ र नेतृत्वमा सुष्मा थापाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
हाल पृथ्वी राजमार्गको चालकको मात्रै परीक्षण गरिएको शाखा सडकहरूमा पनि सञ्चालन गर्ने योजना रहेको ट्राफिक तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्