तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा हलुवाबेद कार्यक्रम सञ्चालन

सल्यान । सल्यानमा व्यावसायिक रूपमा बिक्री गर्न हलुवाबेद कार्यक्रम सञ्चालन गरिएको छ । हलुवाबेद फलको महत्त्व बुझी खोजिखोजी खान थाले पछि सल्यानमा हलुवाबेद कार्यक्रम सञ्चालन गरिएको हो । 

विगतमा व्यावसायिक रूपमा बिक्री नहुँदा प्रवर्द्धन पनि खासै भएको पाइदैन्थ्यो तर पछिल्लो समय भने शहर बजारमा माग बढ्दै जान थालेपछि कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

यो फलमा ३० भन्दा ज्यादा पोषण तत्त्व पाइने हुँदा पछिल्लो समय यसको माग बढ्दै थालेको कृषि विकास कार्यालय सल्यानका ब्लक विकास अधिकृत सन्दीप लामिछानेले बताउनुभयो । शारदा नगरपालिकाको रातामाटाका हरेक घर घरमा हलुवाबेद उत्पादन हुँदै आइरहेकाले यसको खेती विस्तार गर्दै उचित व्यवस्थापन, बजारीकरणका लागि कार्यक्रम मार्फत पहल गरिने उनको भनाई छ । 

फुयु र जिरो जातका हलुवाबेदका बिरुवा कीर्तिपुरको फलफूल विकास केन्द्रबाट ल्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको उनको भनाई छ । 

हलुवाबेद मानव शरीरको लागि बुहउपयोगी पौष्टिक फलफूलमा पर्दछ । रासायनिक र औषधीय गुणका कारण अत्यन्तै महत्त्वपूर्ण मानिने भएकाले शहरमा यसको माग बढ्दै गएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button