शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा मन्त्रालयले काम गरिरहेको छ : मन्त्री पौडेल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षासँग सम्बन्धित सबै प्रकारका समस्या समाधानमा मन्त्रालयले सूक्ष्म तरिकाले काम गरिरहेको जानकारी दिनुभयो ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सदस्यहरूको प्रश्नको जवाफमा मन्त्री पौडेलले शिक्षा सेवा आयोग नियमावली पास भइसकेको भन्दै दरबन्दी खाली रहेका करिब १७ हजार शिक्षक परिपूर्तिको लागि विज्ञापन प्रक्रिया अगाडि बढाउन मन्त्रालय लागिरहेको पनि जानकारी दिनुभयो ।
उहाँले शिक्षकहरूको स्तरोन्नतिका लागि पनि मन्त्रालयले काम सुरु गरिरहेको बताउनुभयो ।
मन्त्री पौडेलले प्लस टुलाई माध्यमिक स्तर मानिसकिएकोले एसइई को सम्बन्धमा सरोकारवाला र शिक्षाविद्हरूको सुझावका आधारमा मन्त्रालयले निर्णय लिने जानकारी दिनुभयो ।
बैठकमा सांसदहरूले मुलुक सङ्घीय संरचनामा गइसक्दा समेत शिक्षा ऐन २०२८ अनुसार नै अझै पनि चलिरहेको तर्फ मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैगरी सांसदहरूले राष्ट्रिय स्वयं सेवक पुन सञ्चालन कसरी गर्ने भन्ने बारेमा मन्त्रालयले योजना बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा राष्ट्रको दायित्व भएकोले तीनै तह सञ्चालनका लागि सुझावसहितको रिपोर्ट आइसकेको भन्दै चाँडै त्यस सम्बन्धी कानून ल्याइने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्