तपाईँ सुन्दै हुनुहुन्छः

नियम विपरीतका निर्णय खारेजीको माग गर्दै विश्वविद्यालयलाई ज्ञापन पत्र

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयको शुल्क वृद्धि खारेजी र नियम विपरीत कर्मचारी नियुक्ति गरेको भन्दै अनेरास्ववियु बैतडीले ध्यानाकर्षण गराएको छ । पाटन बहुमुखी क्याम्पस मार्फत सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै नियम विपरीत र विद्यार्थीहरूलाई मर्का पर्ने क्रियाकलापहरू रोक्न माग गरिएको हो ।   

प्रवेश परीक्षा, अन्तिम परीक्षा, रजिस्ट्रेसन शुल्क वृद्धि फिर्ता हुनुपर्ने, नियम विपरीत भर्ना गरिएका प्राध्यापक कर्मचारीहरूलाई हटाई विज्ञापन मार्फत भर्ना गर्नुपर्ने, केन्द्रीय क्याम्पस तथा आङ्गिक क्याम्पसहरूमा ३० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिनुपर्ने, नियम विपरीत गरिएका नियुक्ति फिर्ता लगायतका मागहरू अघि सारिएको छ ।

त्यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा खोलिएका नयाँ विषय तथा कार्यक्रमहरूमा दक्ष प्राध्यापकको व्यवस्था हुनुपर्ने लगायतका ९ बुँदे ज्ञापन पत्र बुझाएको अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य खेमराज अवस्थीले बताउनुभयो । नियम विपरीत गरिएका निर्णयहरू यथाशीघ्र खारेज नभए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button