तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक पहिचानका माग गर्दै सन्थाल समुदाय सडकमा

झापा । लोपोन्मुख सन्थाल समुदायले नेपाली शब्दकोशमा लेखिएको ‘सतार शब्द’ अविलम्ब सच्याउन माग राख्दै आज जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

रिमोमाला सन्थाली आखडा नेपाल नामक संस्थाले आफूहरू देशको मूलवासी भएको र सन्थाल लेखिनुपर्नेमा सतार लेखेर समुदायमाथि उपेक्षित गरेको भन्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई ज्ञापन पत्र बुझाएका हुन् । 

झापा, मोरङ र सुनसरीबाट आएका सयौँ सन्थालहरूले लेखनाथ चोकबाट शान्तिपूर्ण विरोध र्‍याली निकालेर ट्रेड युनियन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले “तथ्याङ्क विभागमा सतार/सन्थाल भएको मान्दैनौँ स्पष्ट सन्थाल मात्र हुनुपर्छ, सोझा सिधा भनेर नढाँट, सन्थाल पहिचान नमेट, आदिवासी सन्थाल जातिको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, स्वास्थ्यमा राज्यको निकायमा पहुँच पुर्‍याऊ, सन्थाल जातिको अधिकार प्राप्तिका लागि अभियान, सतार होइनौँ सन्थाल हाम्रो पहिचान” लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध र्‍याली गरेका छन् । 

ज्ञापन पत्रमा नेपाली शब्दकोशमा सन्थालको जात, धर्म, भाषा, संस्कार, संस्कृतिको स्पष्ट उल्लेख हुनुपर्ने, उनीहरूको जातिको नागरिकतामा नाम र थर पछाडि अपहेलित तथा गलत शब्द सतार रहेकोले अविलम्ब हटाई सुधारसहितको नागरिकता प्रदान गर्नुपर्ने, राष्ट्रिय परिचय पत्रमा पनि सन्थाल नै लेखिनु पर्ने लगायतका माग राखेका छन् । 

संस्थाका अध्यक्ष श्यामलाल बेस्राले सतार शब्दको अर्थ नेपाल प्रज्ञा प्रतिष्ठानको आधिकारिक नेपाली बृहत् शब्दकोशमा लबस्तरो, लाज पचेको, नकचरो अर्थ लाग्ने लेखिएको हुँदा तत्काल विभिन्न अभिलेखमा लेखिएको सतारलाई अविलम्ब सच्याएर सन्थाल लेखिनुपर्ने बताउनुभयो । 
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button