तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस निर्वाचनको अन्तिम परिणाम भोलि मात्र आउने

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम परिणाम भोलि मात्र आउने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टर तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । 

file photo

दलित क्लस्टर तर्फको केन्द्रीय सदस्यको मतगणना आजै राती १० बजेसम्ममा सकेर अन्य क्लष्टरको मतगणना आजका लागि स्थगित गरिने र भोलि बिहानबाट मतगणना फेरि सुरु गरी सम्पन्न गरिने नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

यसरी आज दलित क्लष्टर तर्फको मतगणनाको अन्तिम परिणाम घोषणा हुनेछ भने खस आर्य र आदिवासी जनजाति क्लष्टर तर्फको मतगणनाको अन्तिम परिणाम भोलि मात्र घोषणा हुने निर्वाचन समितिले जनाएको छ ।

खस आर्यबाट १३ जना, आदिवासी जनजातिबाट १५ जना र दलित क्लष्टरबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था काँग्रेसको विधानमा छ । 

यी तीन क्लस्टर बाहेकको निर्वाचन परिणाम यसअघि नै आइसकेको छ ।

नेपाली काँग्रेसको पार्टी विधानमा १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । 

यसैगरी ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार सभापतिलाई दिइएको छ ।

एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्य मध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ । 

आगामी चार वर्षे कार्यकालका लागि गत मङ्सिर २७ गते मतदान भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button