तपाईँ सुन्दै हुनुहुन्छः

क्यानका केही केन्द्रीय सदस्यद्वारा खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । 

क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गर्नुभएको हो । 

क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । 

मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । 

पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही गरेको भन्दै कारबाही फिर्ता गर्नुपर्ने बताउनुभयो । 

खेलाडीले वर्गीकरणमा असहमति जनाएपछि उनीहरूसँग संवाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । रासस  

प्रतिक्रिया राख्नुहोस्

Back to top button