तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा १२ देखि १७ वर्षसम्मका बालबालिकाहरूलाई मोर्डना खोप दिन सुरु

स्याङ्जा । स्याङ्जामा १२ वर्ष माथिका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन सुरु गरिएको छ । 

सोमबारदेखि जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा २९ हजार बालबालिकाहरूलाई मोर्डना खोप लगाइनेछ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माका अनुसार जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिहरुका लागि २९ हजार मोर्डना खोप लगाउने कार्यक्रम अनुसार खोप अभियान सुरु भएको हो ।

जिल्लाका विभिन्न विद्यालय तथा साबिकका खोप केन्द्रहरूबाट खोप लगाउन सुरु गरिएको हो । यो खोप अभियान १४ गतेसम्म रहनेछ । 

खोप लगाउने सङ्ख्याका आधारमा २ देखि ३ दिनसम्मको खोप अभियान रहेको प्रमुख शर्माले बताउनुभयो । अहिलेसम्म जिल्लामा १ लाख ६३ हजारले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने १ लाख ३० हजारले पूर्ण खोप लगाएका छन् । 

त्यस्तै, १८ वर्ष माथिका छुटेका अन्य व्यक्तिहरूका लागी जिल्लाको दुई स्थानबाट नियमित खोप लगाइनेछ ।

धेरै जनसङ्ख्या भएको पालिकाहरू पुतलीबजार नगरपालिका र वालिङबाट नियमित खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पुतलीबजार १ को सहरी स्वास्थ्य क्लिनिक र वालिङको गह्रौँ प्राथमिक अस्पतालमा नियमित रुपमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम ११ गतेबाट सुरु हुनेछ । सम्पूर्णलाई खोपको पहुँचमा पुर्‍याउन यी दुई स्थानबाट नियमित रुपमा खोप लगाउने कार्यक्रम रहेको छ । जिल्लामा खोप लगाउन बाँकी कमै मात्रामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button