प्रतिनिधिसभामा आज पनि प्रमुख प्रतिपक्षको विरोध

काठमाडौँ । सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगत्तै एमालेका सांसदले बेल घेराउ र नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताउनुभयो ।
उहाँले आफ्ना कुरा सुन्ने र अरूका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटक पटक आग्रह गर्नुभएको थियो ।
उहाँले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैँ नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसदलाई पुनः ध्यानाकर्षण गराउनुभयो ।
जनप्रतिनिधिको सर्वोच्च निकाय संसद् एवं सदस्यले स्वीकृत विधि र नियम पालनामा सांसद सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उहाँले आग्रह गर्नुभएको थियो ।
सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउनुभयो ।
गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्