‘मधेसको शिक्षा अवस्थामा सुधार ल्याउन जरुरी’
जनकपुरधाम । विगत केही दशक यता शिक्षाको उर्वर भूमिका रुपमा रहेका तराई मधेसका शिक्षामा आएको ह्रासप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूबाट चिन्ता व्यक्त गरिएको छ ।
शिक्षा पत्रकार समाजको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्रको समन्वयमा आज जनकपुरधाममा आयोजना गरिएको “मधेसमा शिक्षाका मुद्दाहरू र सञ्चार क्षेत्रका प्राथमिकता” विषयक कार्यशालामा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रमा देखा परेको समस्याको समाधानका लागि पत्रकारहरूले प्राथमिकता साथ समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सहभागीहरूले कुनै वेला मधेसले सम्पूर्ण देशलाई शिक्षाको ज्ञान बाँडेकोमा अहिले आएर पछाडि पर्नुको कारणको विषयमा गहन अध्ययन, अनुसन्धान, विश्लेषण गर्न आवश्यक भएको बताउनुभयो ।
खास गरेर सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्थामा सुधार गर्नका लागि चाल्नुपर्ने कदमको विषयमा पत्रकारहरूले औँल्याएर सुधारका लागि अभिप्रेरित गर्न आवश्यक भएकोमा सहभागीहरूले जोड दिनुभयो ।
कार्यक्रममा २ नं प्रदेश सभाका सदस्य रामअशिष यादवले सामुदायिक विद्यालयहरूको पठन पाठनमा सुधार नभएसम्म शिक्षाको गुणस्तरमा सुधार नहुने बताउँदै यसका लागि आफूहरू लागि परेको बताउनुभयो ।
वरिष्ठ पत्रकार चन्द्र किशोर झाले देशमा नै विश्व विद्यालय तथा शिक्षालय नभएको बेलामा विश्व विद्यालयको रुपमा नेपाल राष्ट्रिय विद्यापीठ वीरगन्जमा रहेको र महोत्तरीको मटिहानीमा राजकीय संस्कृत माध्यमिक विद्यालयले शिक्षा प्रदान गरेर ठूला ठूला नागरिक तयार पारेको तर अहिले प्रदेश २ को शिक्षा के कारणले पछाडि पर्यो हामी सबैले समीक्षा गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश शिलवाल, केन्द्रीय सदस्य यशोदा अधिकारी, हरि थापा, समाजका प्रदेश २ का अध्यक्ष सुरेश यादवले विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नंं २ का विभिन्न जिल्लाहरूबाट शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्