सिन्धुपाल्चोकका बाढी प्रभावितलाई इन्द्रेणीको सहयोग

सिन्धुपाल्चोक । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि १५ लाख सहयोग हस्तान्तरण गर्नुभएको छ ।
मेलम्ची नगरपालिकामा अस्थायी आवास निर्माणका लागि ५ परिवारलाई १५ लाख रुपैंया हस्तान्तरण गर्नुभएको हो । साथै रेडियो मेलम्चीका लागि पनि १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । यसअघि इन्द्रेणीको सहयोगमा बनेका घरको अवलोकन गर्दै कँडेलले थप पाँच घर निर्माणका लागि ३ लाखका दरले १५ लाख हस्तान्तरण गर्नुभएको हो ।

बाँकी रकम ३ लाख ३५ हजार रुपैयाँ घर बनाइसकेपछि दिइने कँडेलले जानकारी दिनुभयो । इन्द्रेणीको सहयोगमा अहिले अस्थायी आवास बनाएकाहरू भने खुशी भएका छन् । प्राप्त रकम र आफू सँग भएको रकमले तत्कालका लागि अस्थायी आवास निर्माण गरिएको प्रभावितहरूले बताएका छन् ।
इन्द्रेणीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी प्रभावितहरूलाई अस्थायी आवास निर्माणका लागि रकम सहयोग गर्दै आएको छ । यसअघि हेलम्बुका १७ र मेलम्चीका ५ परिवारलाई इन्द्रेणीले घर निर्माणको लागि रकम सहयोग गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्