तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाका सवाल सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना

अछाम । अछामको मेल्लेख गाउँपालिकामा बालबालिकाका सवालहरूको सम्बोधन गर्नका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरिएको छ । गाउँपालिकाले विभिन्न तयारी तथा दुई दिने कार्यशाला गोष्ठी मार्फत पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरेको हो ।

कार्यशालामा बाल संरक्षण सम्बन्धी स्थानीय स्तरमा अवस्था विश्लेषण गर्दा देखा परेका बालबालिका सवालहरू सम्बोधन गर्नका लागि कार्य योजना सहित पञ्चवर्षीय बजेट सहित रणनीतिक योजना बनाइएको छ ।

कार्यशालामा सहभागी सरोकारवालाले अब आगामी दिनमा बालबालिका सम्बन्धी काम गर्ने जुनसुकै निकाय तथा सङ्घ संस्थाहरूले यसलाई आधार मानेर काम गर्नुपर्ने बताएका छन् । 

यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीलाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने विषयमा पनि छलफल गरेको छ । पुस मसान्तसम्म घोषणा गर्नको लागि आवश्यक सबै सूचकहरू पूरा भए नभएको बारे अनुगमन गरिने गाउँपालिकाकाले जनाएको छ । 

बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नु पर्ने सम्पूर्ण सूचकहरू पूरा नभएका कुरा गाउँ पालिकाले अनुगमन गरिसके पछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्नको लागि पत्र पठाउने र सम्पूर्ण सरोकारवाला, निकाय र पालिका स्तरका साझेदार सङ्घसंस्थाहरू समेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष धनबहादुर साउँदले बताउनुभयो ।

गाउँपालिकामा बालविवाह छाउ प्रथा, सकारात्मक अभिभावकत्व लगायत मुख्य समस्या समाधानको लागि कार्यक्रम थप सञ्चालन गरिने भएको छ । 

बालबालिकाहरू सङ्ग सम्बन्धित विभिन्न किसिमका नीति तथा कार्यविधिहरू निर्माण गर्ने समेत निर्णय गरेको छ । कार्यशाला मेल्लेख गाउँ पालिकाको बाल अधिकार समितिले आयोजना वर्ल्ड भिजन, इ नेपाल र आस्था नेपालको प्राविधिक सहयोगमा भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button