तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएकालाई रोजगार बनाउँदै फाउण्ड परियोजना

विराटनगर । सिप र ऊर्जा  भए पनि पुँजीको अभावमा विराटनगर–१७ का मोहमद नसिम आलमले  व्यवसाय सञ्चालन गर्न सकिरहेका थिएनन् । पढाइमा स्नातक गरेपनि व्यवसायका लागि रकम नहुँदा के गर्नु के नगर्नु जस्तो उनमा भान भइरहेका थियो ।

अपाङ्गता भएका व्यक्तिलाई  द ल्याप्रोसी मिसन नेपालको फाउण्ड परियोजनाले स्वरोजगार बनाउने अभियान शुरु गरेको उनले थाहा पाए र परियोजनासँग जोडिए  परियोजनाबाट बिउ पुँजीको रूपमा २३ हजार ५ सय रुपैयाँ उनले पाए । सो रकम  लिएर आलमले मोबाइल रिपेरिङ पसल शुरु गरे । ९ महिना अघि सुरु गरेको सो पसलबाट अहिले मासिक १५ हजार रुपैयाँ कमाउने गरेको र त्यसैबाट  जीवनयापन सहज भएको उनले सुनाए । युवा उमेरमा रोजगारी नपाइरहेको अवस्थामा  परियोजनाले आफूलाई स्वरोजगार बनाएको उनले बताए ।  

परियोजना सञ्चालनमा आएपछि आलम जस्तै अपाङ्गता भएका व्यक्तिहरूले रोजगारी  पाएका छनभने धेरैले बिउ पुँजी लिएर व्यवसाय समेत सञ्चालन गरी रहेका छन् ।  परियोजनाले  मङ्गलवार विराटनगरमा  गरेको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा दिएको जानकारी अनुसार मोरङ र सुनसरी जिल्लाका अपाङ्गता भएका ७२ जनाले परियोजनाबाट बिउ पुँजी लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । 

त्यस्तै परियोजना मार्फत तालिम लिएका ३१ जना अपाङ्ग भएकाहरू औपचारिक रूपमा रोजगारमा जोडिएको  ७६ जनाले विभिन्न प्रकारको तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेको र  ९ जनाले सहायक सामाग्री पाएका छन् । त्यस्तै २ सय ३९ जनाले परियोजनाबाट सेवा लिएको र रोजगारसँग जोडिएका व्यक्तिहरूको कामबाट १५ जनाभन्दा बढी रोजगारदाता सन्तुष्ट भएको वार्षिक प्रतिवेदनमा जानकारी गराइयो ।  
परियोजनाका प्रदेश न १ का मेनेजर विपिन दासले डेढ वर्षदेखि सञ्चालन भइरहेका परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई सपाङ्गता भएका व्यक्ति सरह रोजगारीको अवसर दिलाउन परियोजना सफल भएको दाबी गर्नुभयो ।  

अहिले पनि मोरङ र सुनसरीमा सञ्चालित उद्योग व्यवसाय तथा गार्मेन्टबाट   रोजगारीका लागि ५० भन्दा बढी व्यक्तिहरूको माग आएको र  त्यसका लागि जनशक्तिहरूलाई तालिम दिने काम परियोजनाले गरिरहेको भन्नुहुँदै होटल अस्पताल तथा विद्यालयहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो । 

परियोजनामा हाल सम्म रोजगारीका लागि २ सय ३९ जना सूचिकृत भएका  छन् । परियोजनाले ४ सय ५०  भन्दा बढिलाई रोजगार प्रदान गर्ने र व्यवसायसँग जोडने लक्ष्य लिएको छ । यो कार्यक्रममा परियोजना सँग राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घले सहकार्य गरिरहेका छन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button