दासका परिवारद्वारा ५ जनाको नाममा किटानी जाहेरी दर्ता
टीकापुर, कैलाली । कैलालीमा हत्या गरिएका अर्जुन दासका परिवारले ५ जनाको नाममा किटानी जाहेरी दिएका छन् । मृतक दासका परिवारले ५ जनाका नाममा इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता गरेको र उनीहरूलाई पक्राउ अनुमतिका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । किटानी जाहेरी दर्ता भएपछि शव पोष्टमार्टमको प्रक्रिया पनि अगाडि बढेको इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर ऐरले बताउनुभयो ।
मृतक दासका परिवार तथा आफन्तले हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै आज दिउसो इलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण रूपमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनपछि उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्ने, वडा कार्यालयमा तालावन्दि गर्ने, लम्कीमा चक्का जाम गर्ने लगायतका कार्यक्रम पनि घोषणा गरेका छन् ।
गएको शनिवार जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्