सडक छेउमा उखुका ट्रली : दुर्घटनाको जोखिम उच्च

कञ्चनपुर । यो समय उखु किसानहरूका लागि निक्कै कामको चटारो भएको समय हो । उखु किसानहरू यतिखेर उखु काट्न र मिलसम्म पुर्याउन व्यस्त छन् । यसै क्रममा कञ्चनपुरको बेलौरीमा रहेको महाकाली सुगर मिलमा उखु ढुवानी गर्ने किसानहरूले आफ्नो पालो कुर्नकै लागि सडकमा मात्रै पनि उखु लोड गरिएका ट्रली सहितका ट्याक्टरहरूको करिब ३ किलोमिटर लामो लाइन लगाएका छन् ।
उखु ढुवानी गर्ने किसानहरू कम्तीमा पनि ३ दिन ३ रात सडकमै अनिदो बस्नु पर्ने बाध्यता रहेको सुनाउँछन् । उखु किसानहरूले चिनी मिलसम्म पुर्याउन उखु ढुवानी गर्ने ट्रली सहितका ट्याक्टरहरू अव्यवस्थित रूपमा सडकमै पार्किङ गर्दा बाटोमा आवतजावत गर्ने जो कोहीलाई पनि असहज भएको छ भने सडक दुर्घटनाको जोखिम समेत बढेको छ । अधिकांश किसानहरूले एकै चोटि उखु काट्दा मिल भित्र प्रवेश नपाएपछि सडक छेउमै पार्किङ गरी पालो कुर्नु परेको हो ।
उक्त कार्यलाई व्यवस्थित गर्न महाकाली सुगर मिलले ध्यान दिनुपर्ने र किसानहरूले पनि मिलबाट पर्चा पाइसकेपछि मात्रै उखु काट्नु उपयुक्त हुने नागरिक समाजका प्रतिनिधि मनराज उपाध्यायको धारणा छ । कञ्चनपुरको दक्षिणी क्षेत्रको सबैभन्दा ठुलो उद्योगका रूपमा स्थापित महाकाली सुगर इण्डष्ट्रिजका प्रशासन प्रबन्धक कालु सिंह ठगुन्नाले मिलले क्षमता अनुसार उखु पेलाई गरिरहेकोले मिलबाट पर्चा पाइसकेपछि मात्रै उखु काट्न र व्यवस्थित रूपमा ढुवानी गर्न उखु किसानहरूलाई अनुरोध गर्नुभयो ।
पछिल्लो एक दशकयता बेलौरीमा सञ्चालनमा रहेको महाकाली सुगर मिल र पुनर्वासमा रहेको भागेश्वर सुगर मिल स्थापना भएपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानहरू उखु खेतीतर्फ आकर्षित भएका छन् । यद्यपि उखु काटिसकेपछि सोही खेतमा गहुँ छर्ने हतारोमा किसानहरूले अपरिपक्व उखु काटेर मिलसम्म पुर्याउने गर्दछन् । यसबाट एकातिर उखु उत्पादक किसानहरूले उचित मूल्य पाउँदैनन् भने अर्कोतिर चिनी उद्योगहरूले उपयुक्त समयावधिसम्म आवश्यकता अनुसार उखु पेल्न नपाई छिट्टै उद्योग बन्द गर्नु पर्ने बाध्यता हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्