तपाईँ सुन्दै हुनुहुन्छः

‘सभ्य समाज निर्माणका लागि बाल अधिकारको संरक्षण आवश्यक’

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सभ्य समाज निर्माणका लागि बाल अधिकारको संरक्षण हुनु पर्ने बताउनुभएको छ । 

स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तीन दिवसीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको सोमबार हेटौँडामा उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले सुन्दर, समुन्नत र सभ्य समाज निर्माणका लागि बाल अधिकारको संरक्षण हुनु पर्नेमा जोड दिनुभयो । 

सामाजिक क्षेत्रको विकास विना समुन्नत र समृद्ध समाज निर्माण हुन नसक्ने उहाँको भनाई छ । 

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले हरेक क्षेत्रबाट बालबालिकाका प्राथमिक सवालहरू सम्बोधन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले लैङ्गिक समतासँगै बालबालिकाले बाच्न पाउने, सहभागी हुन पाउने, सबै क्षेत्रमा भेदभाव रहित र बाल मैत्रीपूर्ण क्रियाकलाप सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । 

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सहजिकरणमा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुखहरू, महिला तथा बालबालिका शाखा प्रमुखहरू, बालबालिका हेर्ने संयोजक, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख र न्यायिक समितिका सहजकर्ताहरूको सहभागिता रहेको छ । 

तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा बाल अधिकार परिषद्का बालबालिका विज्ञ, कानु अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का राममणि गौतम, कपिल अर्याल, जग्गनाथ सुवेदी लगायतले सहजीकरण गर्नुहुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button