तपाईँ सुन्दै हुनुहुन्छः

राज्यमन्त्री गुरुङलाई मेलम्चीमा सम्मान

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङलाई आज मेलम्चीमा सम्मान गरिएको छ । नेकपा  (एकीकृत समाजवादी) पार्टी मेलम्चीको आयोजनामा मन्त्री गुरुङलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो । 

सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पार्टी भन्दा माथि रहेर जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशका बनाउन बाँकी रहेका कानून बनाउन लागिरहेको जानकारी दिँदै कानून बनिसकेपछि काम गर्न सजिलो हुने बताउनुभयो । सम्मान गरेकोमा आभार प्रकट गर्दै मन्त्री गुरुङले सबैको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य भगवती नेपालले पशुपन्छी पालक किसानलाई प्रोत्साहन हुने खालको कार्यक्रम ल्याउन मन्त्री गुरुङलाई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष नवराज पौडेल, इन्द्रावती क्याम्पस मेलम्चीका प्रमुख राधाकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका नेता सुदर्शन सापकोटा, लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 

यसैबीच नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन, जिल्ला कार्य समिति सिन्धुपाल्चोकले मेलम्चीमा एक समारोहका बीच राज्यमन्त्री इन्द्रमाया गुरुङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ । नव नियुक्त राज्यमन्त्रीलाई सिन्धुपाल्चोक जिल्लाका कृषि तथा पशुपन्छी विकासको सम्भावना र चुनौतीको बारेमा समेत जानकारी गराई नेभ्ला सिन्धुपाल्चोकले राज्यमन्त्रीलाई प्रदेश सरकार अन्तर्गतका कृषि र पशुपन्छी विकासका कार्यालय सिन्धुपाल्चोक जिल्लामा नभएकाले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा ल्याउन आग्रह गरेको प्राविधिक दीपक थापाले जानकारी दिनुभयो । 

एक वडा एक कृषि तथा पशु सेवा प्राविधिक जनशक्ति व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको थापाले जानकारी दिनुभयो । साथै पञ्चकन्या मन्दिर संरक्षण समिति मेलम्ची ११ टारले पनि मन्त्री गुरुङलाई एक कार्यक्रम गर्दै सम्मान गरिएको स्थानीय ज्ञान प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button