रामानन्दद्वारा दुई स्रष्टा पुरस्कृत, थप पुरस्कारको घोषणा
जनकपुरधाम । मिथिलाको भाषा, साहित्य, कला, संस्कृति, खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेको जनकपुरधामको रामानन्द युवा क्लबले आज दुई जना स्रष्टालाई पुरस्कृत गरेको छ ।
क्लबको ३६ औँ वार्षिकोत्सव अवसर पारेर आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा भाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान दिनु भएका साहित्यकार एवं पूर्व सांसद महेन्द्र कुमार मिश्रलाई विद्यापति स्मृति पुरस्कार र चर्चित महिला कलाकार रिना यादवलाई सरस्वती राजनारायण प्रतिष्ठान पुरस्कार प्रदान गरी सम्मानित गरिएको छ ।

विद्यापति स्मृति पुरस्कारमा १५ हजार नगद, सम्मान पत्र तथा दोसल्ला रहेको छ भने सरस्वती राजनारायण प्रतिष्ठान पुरस्कारमा २१ हजार नगद, सम्मान पत्र तथा दोसल्ला रहेको छ । दुवै पुरस्कृत व्यक्तिहरूलाई प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले दोसल्ला ओढाएर पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएका वरिष्ठ पत्रकार रामभरत साह, पुरन साह तथा गायत्री मिश्रलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रममा कोरोना कालमा गरिब तथा विपन्न वर्गका व्यक्तिलाई विशेष राहत प्रदान गर्नुभएका क्लबका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायी दीपेन्द्र ठाकुरलाई पनि दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रदेश नंं २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले रामानन्द युवा क्लबले सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै युवाहरूमा अहिले देखिएको दुर्व्यसन हटाउनका लागि क्लबले विशेष अभियान चलाउनका लागि सुझाव दिनुभयो ।

उहाँले प्रदेश सभाको चालु रहेको आठौँ अधिवेशनबाट प्रदेश नंं २ को नाउँ तथा राजधानी तोक्ने पक्षमा सरकार भएको बताउनुभयो ।
प्रदेश नंं २ का प्रदेश सभाका सदस्य परमेश्वर साहले रामानन्द युवा क्लबको प्रतिबन्धको समयमा पनि सामाजिक रूपान्तरणको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अगामी दिनमा थप राम्रा कामकाज गर्नका लागि शुभकामना दिनुभयो ।
रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस जानकी आँखा अस्पतालका अध्यक्ष गङ्गाराम यादव, पुरस्कृत व्यक्तित्वहरू महेन्द्र कुमार मिश्र, रिना यादव, क्लबका पूर्व अध्यक्षहरू अमरचन्द अनिल, दीपेन्द्र ठाकुर, नविद मिश्र, अशोक दत्त सहितका वक्ताहरूले शुभकामना दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्