तपाईँ सुन्दै हुनुहुन्छः

मध्य तराईका जिल्लाहरूमा शितलहर सुरु, रौतहटमा कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु

बीरगंज । मध्य तराईका जिल्लाहरूमा आज बिहानबाट शितलहर सुरु भएको छ । 

बीरगञ्जसहित बारा पर्सा, रौतहट लगायतका तराईका जिल्लाहरूमा शीतलहरूसँगै अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै नागरिकको दैनिकी पनि प्रभावित हुँदै गएको छ । 

गर्मीमा अत्यधिक गर्मी र चिसोमा अत्यधिक चिसो हुने वीरगञ्जसहित मध्य तराईका जिल्लामा शितलहर सुरु भएसँगै बाक्लो हुस्सु लाग्ने क्रम पनि सुरु भएको छ । दिउँसोको तुलनामा बिहान र बेलुकीपख चिसो बढी हुने गरेको छ । 

अत्यधिक चिसोका कारण घर बाहिर रहेका महिला, बालबालिका तथा वृद्ध वृद्धाहरू बढी प्रभावित भएको र बिहान हिँडडुल गर्ने व्यक्तिहरूको हातखुट्टा कठ्याङ्ग्रिने गरेको पीडितहरूले बताएका छन् ।

आज यो वर्षकै अहिलेसम्म सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ । चिसो मौसममा बिहानै स्कुल कलेज जाने बालबालिकाहरूलाई समस्या हुने गरेको छ । 

बिहानीको कक्षालाई अब दिउँसो बनाउनेतर्फ पनि विद्यालयमा छलफल सुरु भइरहेको ज्ञान ज्योति माविका प्रिन्सिपल राम किशोर यादवले बताउनुभयो । 

चिसो बढ्दै जाँदा मौसमी रुघाखोकी र ज्वरोका बिरामीको सङ्ख्या पनि बिस्तारै बढ्न थालेको नारायणी अस्पतालका फिजिसियन डा.निरज सिंहले बताउनुभयो । 

चिसो मौसममा विशेष गरी बालबालिका, वृद्ध वृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न नारायणी अस्पतालकै फिजिसियन डा. उदयनारायण सिंहले आग्रह गर्नुभयो । 

वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेकोमा यस वर्ष कसैले पनि ज्यान नगुमाउने गरी दाउरा वितरणदेखि न्यानो कपडा एवम् कम्बल वितरण लगायतका कार्यक्रमलाई सुरु गर्नुपर्ने माग सामाजिक अभियानताहरुको छ । 

यसैबीच तराईमा बढ्दै गरेको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै समर्पण सेवा संस्थाको सहयोगमा सोनार युवा अभियान बीरगंजले न्यानो कपडा वितरण गरेको छ । 

चिसो अत्यधिक बढेपछि सडक तथा पेटीमै बास बस्न बाध्य हुने सडक आश्रित ३५ जनालाई ज्याकेट वितरण गरिएको अभियानका संयोजक राजकुमार सर्राफले जानकारी दिनुभयो ।

वीरगञ्जको घण्टाघर, बसपार्क, लक्षमनवा, शङ्कराचार्य गेट, नारायणी अस्पताल लगायतका स्थानमा पुगेर गएरातिदेखि ज्याकेट वितरण अभियान सुरु गरिएको सर्राफले बताउनुभयो । 

यसैबीच रौतहटमा चिसोले कठ्याङ्ग्रिएर एक जना बालिकाको मृत्यु भएको छ । 

जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर –६ पेटभर्वाका दामोदर बैठाको दुई बर्षिया छोरी रमिता बैठाको गए राति चिसोले कठ्ङरिएर मृत्यु भएको हो ।

वडामा स्वास्थ्य चौकी नभएकोले आमाले छोरी रमितालाई काखमा लिएर  ३ किलोमिटर पैदल हिँडेर सन्तपुरस्थित स्वास्थ्य चौकीमा खोप लगाउन गएकी थिइन । 

लामो समय लाइनमा बसेर खोप लगाएर फर्किने क्रममा जाडोले सिकिस्त भएको बालिका घरमा पुग्दापुग्दै मृत्यु भएको बुवा दामोदर बैठाले बताउनुभयो ।  

फतुवा बिजयपुर नगरपालिका ८ पेटभर्वा र रामदासी गाउँमा स्वास्थ्य चौकी पनि नरहेको कारण बालबालिका तथा वृद्ध बृद्धाहरुको उपचारमा समस्या भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button