तपाईँ सुन्दै हुनुहुन्छः

१५ बुँदे घोषणापत्र जारी गर्दै कञ्चनपुर सम्मेलन सम्पन्न

 

कञ्चनपुर । सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणासहित कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पहिलो कञ्चनपुर सम्मेलन–२०७८ सम्पन्न भएको छ । 

एनएनएसडब्लुए र डीसीएको प्राविधिक साझेदारीमा भीमदत्त नगरपालिकाले आयोजना गरेको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे पहिलो सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । 

जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन, उत्थानशील सहर र दिगो विकास बारे विस्तृत छलफलसहित भावी योजना तर्जुमाका लागि सम्मेलनको आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

उहाँका अनुसार सम्मेलनमा जलवायु परिवर्तनले ल्याएको सङ्कट तथा सृजित विपद्को जोखिम तथा रोकथामबारे छलफल भएको छ । 
भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरु योजना निर्माण, आधुनिक सहरको विकासका लागि सहरी योजना आयोग गठनसँगै  नगर विकास समितिले काम गरिरहेको उहाँले बताउनुभयो ।

सम्मेलनबाट जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको छ । 

घोषणापत्रमा नौ वटै स्थानीय तहका प्रमुख, उप–प्रमुखले हस्ताक्षर गर्नु भएको छ । 

घोषणापत्रमा जलवायु अनुकूलन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भू–उपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहु प्रकोप सूचना प्रणालीको स्थापना, र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button