तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको प्रदेश सम्मेलन : प्रदेश पदाधिकारी चयनमा सकस

file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिअन्तर्गत प्रदेश पदाधिकारीको आज टुङ्गो लाग्ने भएको छ । 

सम्मेलनबाट निर्वाचित प्रदेश समितिले आज सहमति भए सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाटै भएपनि प्रदेश पदाधिकारी टुङ्गो लगाउन लागेको हो । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमार्फत नै भएपनि नेतृत्व चयन गर्न निर्देशन दिएपछि बागमती प्रदेश समितिको पदाधिकारी आज टुङ्गो लाग्ने भएको हो । 

मङ्सिर २५ र २६ गते भएको प्रदेश सम्मेलनले पदाधिकारी टुङ्गो नलगाई २ सय ७५ सदस्य रहेको प्रदेश समिति मात्र चयन गरेको थियो । 

सात भौगोलिक र तीन गैर भौगोलिकसहित १० प्रदेशमा एकसाथ सुरु भएको प्रदेश सम्मेलन अन्तर्गत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको पदाधिकारीसहित प्रदेश समिति चयन गरेको छ । 

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल, गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ, कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी, उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा र सम्पर्क समन्वय प्रदेशको अध्यक्षमा श्रीकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ ।

सर्वसम्मतिको प्रयास गरिरहेको माओवादी केन्द्रको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रवास प्रदेशमा पदाधिकारीमा देखिएको प्रतिस्पर्धाका कारण पदाधिकारी चयन हुन सकेको छैन । 

बाग्मती प्रदेशको पदाधिकारी आज टुङिगएपनि प्रदेश १ को अझै केही दिन लाग्ने र प्रदेश २ को समितिसहित पदाधिकारी चयन राष्ट्रिय सम्मेलनपछि मात्र हुने माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको विधान अनुसार सबै प्रदेशमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहनेछन् । 

नेकपा माओवादी केन्द्रले यही पुस ११ देखि १३ गतेसम्म राजधानीमा राष्ट्रिय सम्मेलन गर्दैछ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button