मङ्सिरमा चितवनमा २४६३ सवारी कारबाहीमा, २२ लाख भन्दा बढी राजश्व सङ्कलन

चितवन । चालु आर्थिक वर्ष ०७८/७९ को साउन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले २२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सो महिनामा दुई हजार ४४६ वटा सवारीसाधन कारबाहीबाट २२ लाख ४४ हजार पाँच सय रुपैंया राजश्व सङ्कलन गरेको हो ।
सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल
कार्यालयले मङ्सिर महिनामा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गरेको छ । सो महिनामा ६४१ वटा मोटरसाइकलबाट ५ लाख ३२ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने ११० वटा ट्याक्टर कारबाहीबाट १ लाख २ हजार रुपैंया राजश्व सङ्कलन गरेको छ ।
यस्तै ४६६ वटा ट्रक/ट्रिपरबाट ५ लाख १९ हजार रुपैंया, ३४५ वटा बस माइक्रो कारबाहीबाट ३ लाख १९ हजार रुपैंया, ५७९ वटा जिप/कार कारबाहीबाट ५ लाख ३६ हजार र ट्याम्पो तथा अन्य गरी ३२२ वटा सवारी गरी २ लाख ३६ हजार रुपैंया राजश्व सङ्कलन गरेको कार्यालयले जानकारी दिएको छ ।
ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवान थापाले सवारीको किसिम, सङ्ख्या र गल्ती अनुसार राजश्व सङ्कलन हुने बताउनुभयो । ट्राफिक प्रहरीले कारबाही गरे पनि चालकले बैङ्कमा गएर जरिवाना समयमै जरिवाना नबुझाउँदा समयमै राजश्व सङ्कलन दाखिला नहुने थापाको भनाई छ ।

सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु, ७४ जना घाइते
चालु आवको मङ्सिर महिनामा चितवनमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । दुर्घटनाका घाइतेमध्ये २४ जना गम्भीर घाइते भएका थिए भने २४ जना सामान्य घाइते भएका थिए ।
कार्यालयका अनुसार सो महिना दुर्घटनामा १० जना पुरुष र २ जना महिलाको मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट ५४ जना पुरुष , १७ जना महिला ,२ बालक र एक बालिका घाइते भएका थिए भने एउटा चौपायाको पनि मृत्यु भएको थियो । उक्त महिना ४७ वटा दुर्घटना भएकोमा ७३ वटा सवारी दुर्घटनामा संलग्न रहेको कार्यालयले जानकारी दिएको छ ।
प्रमुख थापाले पछिल्लो समय नारायणगढ मुग्लिन सडकखण्ड र शहरी सडक खण्डभन्दा भित्री सडक र लोकमार्गमा सवारी दुर्घटनासँगै मानवीय क्षति हुने गरेको बताउनुभयो । उहाँका अनुसार भित्री सडकमा ट्राफिक प्रहरीको कम पहुँच, चालकको लापरबाही र सडकको संरचनाले गर्दा बढी दुर्घटना हुने र मृत्यु र घाइतेको सङ्ख्या पनि सोही अनुपातमा बढ्ने गरेको हो । ‘पहिला नारायणगढ सडकखण्ड र शहरी क्षेत्रमा बढी सवारी दुर्घटना हुने गर्थ्यो उहाँले भन्नुभयो, पछिल्लो समय भित्री सडक र लोकमार्गमा बढी दुर्घटना भएको पाएका छौँ ।’ चालकको लापरबाही, यान्त्रिक गडबडी, तीव्र गति, मापसे गरेर सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने भएका कारण पनि यस्ता सडकमा सवारी दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति हुने गरेको उहाँले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्