तपाईँ सुन्दै हुनुहुन्छः

पाटा: पाक कला प्रतियोगिता सम्पन्न

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेशनलसँगको सहकार्यमा आयोजित पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिताको उपाधि ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनमा अध्ययनरत रुबी पुडासैनी र सुन्दर शेर्पाको समूहले प्राप्त गरेको छ ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटेल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरू–सिल्भर माउन्टेन, गेट, जीसीआई, आईएसटी र नाथमको प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली सेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए । 

प्रतियोगीहरूले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपाली व्यञ्जनलाई व्यावसायिक पाककला र नयाँ रचनात्मक शैलीका साथ प्रस्तुतीकरण गरेका थिए । 

प्रतियोगितामा सेफ गोविन्द नरसिंह केसी, सेफ जितेन प्रधान, सेफ सुनसरी नेपाली र सेफ विक्रम गिरी लगायतको निर्णायक मण्डलले सहभागी विद्यार्थीहरूको पाककला र दक्षताको मूल्याङ्कन गर्नुभएको थियो । निर्णायकहरूले  युवा विद्यार्थीहरूले प्रदर्शन गरेको जोस, तयारी, रचनात्मक शैली र नवीन विचारहरूबाट  प्रभावित भएको बताउनु भयो ।

त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै पासाङ ल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथम उपविजेता र सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टको प्रतिनिधित्व गर्दै सन्देश कँडेल र पेमा तामाङको टोली द्वितीय उपविजेता घोषित भएका छन् । 

दुई विजेता विद्यार्थीहरूलाई पाटा नेपाल च्याप्टरबाट सेफ सन्तोष शाहसँगको विशेष मेन्टरशिप कार्यक्रम र अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने छ ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुनिल शाक्यले प्रतियोगिताले खानाका लागि उत्कृष्ट गन्तव्यको रूपमा नेपाललाई प्रवर्द्धन गर्न र भविष्यका नेपाली सेफहरू निर्माण गर्ने अभियानमा उल्लेखनीय सहयोग प्रदान हुने बताउनुभयो ।  

कार्यक्रममा ग्लोबल कलेजका निर्देशक डा देवराज पनेरुले पाटा सँगको सहकार्यले प्रतियोगिताले पर्यटन तथा आतिथ्यतामा अध्ययनरत बिद्यार्थीहरुलाई आवश्यक सहभागिता र व्यावहारिक सिकाई प्रदान गर्न फलदायी एवम् प्रभावकारी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button