तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक संस्कृति र सभ्यता जीवन्त राख्नुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मौलिक संस्कृति र सभ्यताको संरक्षण गरी जीवन्त राख्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय ज्यापू दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मौलिक संस्कृति र सभ्यताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालका मौलिक चाडपर्वहरूले सबै जातजाति, भाषाभाषि र सांस्कृतिक समूहको सहअस्तित्वलाई आत्मसात् गरेको हुनाले यसको संरक्षणका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले ज्यापू समाजले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षणमा विशेष सक्रियता देखाएका कारण काठमाडौँ उपत्यकाको अलग्गै सांस्कृतिक पहिचान रहेको उल्लेख गर्नुहुँदै सबै समुदायले आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री देउवाले मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सरकार समेत आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न ज्यापू समुदायको मौलिक संस्कृतिको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले राजधानी काठमाडौँको कला, संस्कृति र सम्पदा सिङ्गो नेपाललाई विश्व बजारमा पहिचान गराउने महत्त्वपूर्ण माध्यम रहेको भन्दै नेवारी संस्कृतिकै माध्यमबाट विदेशी पर्यटकलाई आकर्षण गरिरहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विविधतायुक्त समाजलाई एकताबद्ध बनाउन नेवारी संस्कृतिको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

त्यस अवसरमा मौलिक संस्कृतिको संरक्षण संवर्द्धनमा योगदान गर्ने भुलधामी देवकृष्ण महर्जन, प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, डा रमेशमान सिंह, सुरेन्द्रमान प्रजापति, दिलीपकुमार प्रधान, मदनसेन बज्राचार्य, राजनलाल जोशी, नवीनकुमार जोशी, कुमार रञ्जित, अनिल महर्जन, रमेश महर्जन, तेजनारायण महर्जन, अनिता महर्जन, नेन्सि महर्जन, नितु डङ्गोल र कृषा महर्जनलाई नगद रु १० हजारसहित कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button