तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आजदेखि ट्राफिक सप्ताह शुरु

भद्रपुर, झापा । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम शुभारम्भ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात बर्षीया बालिका रिसिका भण्डारीलाई स्लो ड्राइभ लङलाइफ लेखिएको हेल्मेट लगाइदिएर ‘ट्राफिक सप्ताह २०७८’ को शुभारम्भ गर्नुभयो । आजदेखि शुरु भएको अभियान पुस १० गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्नुअघि ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ, जेव्राक्रसबाट बाटो काट्ने यात्रीलाई प्राथमिकता दिऔँ’ लगायतका नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरी गरिएको थियो ।

बिर्तामोडको हनुमान सेन्टरबाट सुरु गरिएको प्रभातफेरी बजार परिक्रमा गरी सोही स्थानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निषेश चापागाईँले दुई पाङ्ग्रे सवारी साधनबाट दुर्घटना बढी भएको हुँदा प्रतिकात्मक रूपमा स्लो ड्राइभ लङलाइफ लेखिएको हेल्मेट बालिकालाई लगाइदिएर कार्यक्रमको उद्घाटन गरिएको बताउनुभयो ।

‘सातै दिन सातै काम सडक सुरक्षा हाम्रो अभियान’ नारासहित सुरु भएको अभियान अन्तरगत मुख्य चोकहरूमा पाँचजना विद्यार्थी, दुई जना स्काउट स्वयंसेवक र दुई जना ट्राफिक प्रहरी राखेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने लगायतका काम गरिन चापागाईँले बताउनु भयो ।

उहाँले सोही अभियान अन्तरगत स्थानीय तह, सरोकारवाला निकाय, सङ्घ संस्थासँग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अव्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री हटाइने भएको पनि जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button