ढकारी गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी
अछाम । अछाममा अवैध रुपमा काठ ओसारपसारमा संलग्न भएको आरोपमा ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
स्थानीय सामुदायिक वनबाट अवैध रुपमा सालको काठ काटी ल्याउने क्रममा बरामद भएको काठबारे छानबिन गर्दा गाउँपालिका अध्यक्षको नाम मुछिएपछि उहाँ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
ढकारी गाउँपालिका वडा नम्बर ५ मा रहेका चमेली सामुदायिक वनबाट मङ्सिर १२ गते भएको काठ ओसारपसारमा गाउँपालिका अध्यक्ष बुढाको समेतको नाम मुछिएपछि अनुसन्धानका लागि उहाँसहित अन्य तीन जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
मङ्सिर १२ गतेका दिन उक्त वनबाट अवैध रुपमा काठ ओसार पसार गरिरहेको ट्र्याक्टरसँगै गाउँपालिका अध्यक्ष बुढा र गाउँपालिकाको गाडीसहित अघि पछि हिँडेको देखेको भन्दै स्थानीयले डिभिजन बन कार्यालय अछाममा गुनासो गरेसँगै गाउँपालिका अध्यक्ष समेतलाई अनुसन्धानको दायरामा ल्याइएको हो ।
गाउँपालिका अध्यक्ष बुढाले भने काठ ओसारपसारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ। गाउँपालिका अध्यक्ष बुढाले ओसारपसार भइरहेको काठ वैध वा अवैध के थियो भन्ने समेत आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।उहाको भनाइमा उहाँ स्थानीय आफन्तको बिहे कार्यक्रममा सहभागी भएर गाउँपालिकाको गाडीमा फर्किँदै हुनुहुन्थ्यो ।
स्थानीयको गुनासोका आधारमा मङ्सिर १२ गते नै ट्याक्टरसहित ट्र्याक्टरमा ढुवानी हुँदै गरेको काठ स्थानीय प्रहरी र डिभिजन बन कार्यालय अछामको टोलीले बरामद गरेको थियो ।
डिभिजन बन कार्यालय अछामका सूचना अधिकारी विमल चन्दका अनुसार ट्याक्टरमा ओसारपसार हुँदै गरेको १९ क्यु फिट बरावरका अन्दाजी २७ वटा सालको गोला बरामद गरिएको छ ।
काठ ओसारपसारमा संलग्न रहेका ट्याक्टर चालक घनश्याम जी।सी र सह–चालक भुवन जी.सी. हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।
यस्तै काठ ओसारपसारमा संलग्न रहेको आशङ्कामा अनुसन्धानका लागी डिभिजन बन कार्यालय अछामले अन्य तीन जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको बुझिएको छ ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष बुढासहित स्थानीय गगने साउद, ट्याक्टर मालिक खगेन्द्र थापा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । उनीहरू सम्पर्कमा नरहेको र उनीहरूको खोजी भइरहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्